काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिकाभित्र पर्ने पुलचोक–गोन्द्राङ सडक विस्तारको काम सम्पन्न गर्न दश महिना मिति थप गरिएको छ ।
तोकिएको समयमा ६५ प्रतिशत काम सम्पन्न भएपछि बाँकी कामका लागि मिति थप गरिएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार गत माघ २५ गते मिति सक्किएपछि १० महिना थप गरिएको छ । आगामी मङ्सिर २३ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी समय थप गरिएको हो ।
सम्झौता भएको २८ महिनाभित्र सम्पन्न गर्नुपर्ने सडक विस्तारको काम कोरोना महामारी, क्रसर बन्द, खानेपानी पाइप, विद्युत् पोल सार्नुपर्नेलगायतका कारण समयमा काम सम्पन्न हुन नसकेको उनले बताए ।
सो सडकको चौबीसकोठीदेखि पुल्चोकसम्मको काम तीब्र गतिमा भइरहेको छ । बजार क्षेत्रमा काम भइरहेकाले ट्राफिक व्यवस्थापन जटिल बनेको छ । काम गरेका क्षेत्रमा सवारीसाधन आवतजावतमा समस्या परेको छ । गोन्द्राङदेखि चौबीसकोठीसम्म दुई तहको कालोपत्रे (डिबिएम) भइसकेको छ । रिजालचोकदेखि चौबीसकोठी खण्डको बीचमा पनि कालोपत्रे गर्ने तयारी गरिएको छ । सडकमा तीन तहको कालोपत्रे हुनेछ । यो सडकमा तीन तहसम्मको कालोपत्रे हुनेछ ।
पचास मिटर चौडा सडक ६.५ किलोमिटर लामो रहेको छ । १ अर्ब २३ करोड रुपैयाँ लागतमा सडक विस्तार गर्न इन्डो सगुन जेभी बुटवलले जिम्मा पाएको छ । ठेकेदारसँग २०७७ साल कात्तिक ११ गते सम्झौता भएको थियो ।
यो सडकलाई सहरी क्षेत्र सुन्दर देखिने गरी निर्माण गरिने छ । सडकका बीचमा आकर्षक हरियाली हुनेछ । छेउमा फुटपाथ रहने छ । सडकको ठाउँअनुसार फरक फरक नक्साङ्कन गरेर आकर्षक बनाइएको छ ।



