images
images

हुलाकी सडकमा पर्ने ३ पुलको निर्माण सकियो, ५ अन्तिम चरणमा


  • 343
    SHARES
  • २०७९ फाल्गुण ७ गते आइतबार

    हुलाकी सडकमा पर्ने ३ पुलको निर्माण सकियो, ५ अन्तिम चरणमा

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा निर्माण गरिएको हुलाकी राजमार्गमा पर्ने आठ पुलमध्ये हालसम्म तीनको मात्र निर्माण काम सम्पन्न भएको छ । बाँकी निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ ठूलासाना नदीमा पुल निर्माणाधीन छन् । तीमध्ये कमल, किस्ने र मेचीपुलको निर्माणको काम  सम्पन्न भइसकेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इञ्जिनीयर प्रमोद खतिवडाले जानकारी दिए ।

    उनले झापा खण्डमा पर्ने हुलाकी सडकको निर्माण सम्पन्न भए पनि पुलको निर्माण समयमै हुन नसक्दा सडक सञ्चालनमा आउन नसकेको बताए । उनले बन्दै गरेका अधिकांश पुलको ६० देखि ९६ प्रतिशत भौतिक प्रगति भइसकेको जानकारी दिए ।

    उनका अनुसार २०६८ देखि २०७६ सालसम्ममा ठेक्का लागेका सबै पुलको निर्माणको काम आगामी २०८० साल असार मसान्तभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । हुलाकी सडकमा पर्ने विरिङ पुल २०६८ सालमा लामा मैनाचुली जेभीले ठेक्का लिएर काम सुरु गरेको थियो । 

    ठेकेदारको लापरवाही, कोराना महामारी र मुलुकमा राजनीतिक अस्थिरताका कारण सो पुल निर्माणमा ढिलाइ भएको थियो । पटकपटक म्याद थप गरी हाल सो पुलको भौतिक प्रगति ८० प्रतिशत भइसकेको उहाँको भनाइ छ । उहाँले तीव्ररुपमा निर्माण भइरहेको विरिङ पुलको तीन महिनाभित्रमा निर्माण सकिने बनाए ।

    “हरेक बहानामा पुल निर्माणमा जति ढिलो हुनु भयो”, उनले भने, “अब ढिला हुन्न, सबै पुलको निर्माणको काम २०८० सालको असार मसान्तसम्ममा पूरै सकिन्छ ।” उनले विरिङ पुलजस्तै एक दशकअघि सुरु भएको कनकाई पुलको भौतिक प्रगति भने ६० प्रतिशत मात्र भएको बताए । ठूलासाना नदीमा करिब २५ मिटर लम्बाइदेखि छ सय २४ मिटर लामा पुल निर्माण भइरहेका छन् ।

    हुलाकी सडकमा पर्ने भुतेनी खोलाको भौतिक प्रगति ८८ प्रतिशत लेहराको ६८ प्रतिशत, सानोमाईको ९० प्रतिशत भइसकेको उनले जानकारी दिए । यसैगरी लामो समय अलपत्र परेको झापा–मोरङ जोड्ने रतुवा खोलाको पुल निर्माणसमेत सुरु भइसकेको छ । 

    भद्रपुरको मेची पुलदेखि मोरङको सिमानामा रहेको रतुवा खोलासम्मको करिब ४८ किलोमिटर कालोपत्रसहितको सडक निर्माण सकिएको इञ्जिनीयर खतिवडालेले बताए । सडक दुई लेनको बनेको छ । उहाँले बस्ती नभएको स्थानमा सात मिटर चौडाइ भएको र बाक्लो बस्ती भएको बजार क्षेत्रमा दुवै सडकको किनारमा नालीसहित १२ मिटरको सडक निर्माण भएको बताए । 

    मेचीपुलदेखि राजगढको जनता बजारसम्मको २० किलोमिटर सडकको ठेक्का आशिष याक्थुमहाङ जेभी र जनता बजारदेखि रतुवा खोलासम्मको करिब २८ किलोमिटर पिएस गजुरमुखी मोतिदान जेभीले लिएका थिए । पूर्वमेचीदेखि पश्चिम महाकालीको दोधारा–चाँदनी पुलसम्म १ हजार ६ सय मिटरको हुलाकी बाटो निर्माणपछि तराई–मधेसका सर्वसाधारणको जीवनस्तर उकास्न मद्दत बताइन्छ । 

    त्यसैगरी हुलाकी सडकअन्तर्गतकै चारआली केचनासम्मको सडकको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । करिब ४० किलोमिटर सडकमध्ये ३९ किलोमिटर सडकको निर्माण सकिएको छ । 


    images
    images

    Logo