images
images

सूर्यविनायक–धुलिखेल सडक : बनेपामा पच्चीस ‘गज’को मापदण्ड


  • 597
    SHARES
  • २०७९ फाल्गुण ६ गते शनिबार

    सूर्यविनायक–धुलिखेल सडक : बनेपामा पच्चीस ‘गज’को मापदण्ड

    काठमाडौं । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड तीन वर्षमा सक्ने गरी छुट्टाछुट्टै दुई चरणमा सम्झौता भइसकेको छ । 

    सडक बिस्तारको प्रक्रियासँगै राजमार्गको मापदण्डानुसार हाल लगत सङ्कलन कार्य सुरु गरिएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयले जनाएको छ । 

    उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गरिने योजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल खण्ड र सूर्यविनायकदेखि साँगासम्मको ठेक्का दुई चरणमा सम्झौता भएको हो । 

    सडक विस्तार गरिने कूल १५.५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किलोमिटर सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको हो । सडक विभागका प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार ठेक्का रकम ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ रहेको छ । 

    दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड भने ७.५ किलोमिटर रहेको छ । उक्त खण्डको ठेक्का ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँँमा हालै सम्झौता भइसकेको विभागले जनाएको छ । यी दुवै सडकखण्डको काम ठेक्का सम्झौताको ३६ महिनाभित्र सक्नु पर्नेछ । 

    सडकको बीचबाट दायाँबायाँ २५÷२५ मिटरको मापदण्डानुसार कार्यालयले राजमार्गअन्तर्गत पर्ने चार नगरलाई पत्राचार गरी लगत सङ्कलन कार्यमा सहयोग गर्न अपिलसमेत गरेको छ । सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्ने योजनाअनुरुप मापदण्डभित्रका भवन तथा संरचना हटाउन लगत सङ्कलन कार्य थालिएको हो । 

    यस सडकखण्डमध्ये काभ्रेपलाञ्चोकको बनेपा नगरको साँगादेखि बनेपा बजार नजिकको चण्डेश्वरी खोलासम्म चार दशमलव छ किलोमिटर सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ २५ गज अर्थात् २२.८६ मिटर कायम हुने जनाइएको छ । 

    आयोजनाका सिनियर डिभिजन इञ्जिनीयर राधिका प्रजापतिले सूर्यविनायकदेखि धुलिखेलसम्म छ लेनको सडक बनाउने तयारीअन्तर्गत उक्त सडकखण्डको साँगादेखि बनेपाको चण्डेश्वरी खोलासम्म चार दशमलव छ किलोमिटर राजमार्ग दायाँबायाँ २५ गज नै कायम हुने बताए । 

    “उक्त क्षेत्रमा २५ गज नै कायम हुनेछ, तर २५ मिटर र २५ गज अन्तरको क्षेत्रफलको मुआब्जा पनि दिन सकिनेछ”, उनले भने । बनेपा बजारमा मात्रै करिब तीन सयको हाराहारीमा घर रहेको छन् । 

    २०१७ साल मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५/२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो । यस्तै २०२१ सालमा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई कायम गर्यो । यही आधारमा सडक दायाँबायाँ घर बनेको बनेपाका लम्बोदर कायस्थ बताए । 

    तत्कालीन सरकारले २०३१ सालमा सडक ऐन परिवर्तन गरी लोकमार्ग फराकिलो बनाउन चाहेमा क्षतिपूर्ति दिएर मात्रै अधिग्रहण गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले पनि त्यही आशयको फैसला सुनायो । त्यतिबेलाको नापी–नक्सा परिमार्जन गर्दै अहिले मेट्रिक प्रणालीमा सरकारले २५ गजलाई २५ मिटर अर्थात् ८२.५ फिट हुने सूचना जारी गरे पनि बनेपा नगर क्षेत्रभित्र भने २५ गज अर्थात् ७५ फिटलाई नै मान्यता दिइएको बताइन्छ । 

    बनेपाका नगरप्रमुख शान्तिरत्न कायस्थले साँगादेखि बनेपाको चण्डेश्वरी खोलासम्मको सडकखण्डमा २५ गज नै कायम हुने बताए । “हामी पुरानै निर्णय तथा राजपत्रमा प्रकाशित सूचनाअनुसार नै सडक व्यवस्थित गराउनेछौँ”, उनले भने । 

    साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो । पुल निर्माणका लागि भने छुटै ठेक्का आह्वान गरिने आयोजनाको भनाइ छ । 

    यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मा केही परिवर्तन हुँदा पुलहरु थप निर्माण गर्न आवश्यकपर्ने भएकाले १ अर्ब रुपैयाँ लागत लाग्ने आयोजनाको अनुमान छ । 

    अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०/२० मिटरका तीन पुल, जगाति र महादेवखोला पेट्रोलपम्प नजिक निर्माण गरिने आयोजनाले जनाएको छ । यसका लागि छुट्टै ठेक्का आह्वान गरिने जनाइएको छ । यसका लागि प्रतिमिटर १५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । यसको अनुमानित लागत ९० करोड रुपैयाँ छ । 

    उक्त डिपिआरअनुसार साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडक जाने–आउने लेन तल–माथि हुने भएको छ भने सर्भिस लेन निर्माण गर्न नसकिने अवस्था भएको अध्ययनले जनाएको छ । उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक अवस्था कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर योजना अघि बढाइने भएको हो । 

    आयोजनाका प्रमुख रवीन्द्रलाल दासका अनुसार काठमाडौँबाट धुलिखेलतर्फ जाने लेन नयाँ पर्खाल लगाइनेछ भने आउने लेन पहिलेकैरूपमा रहने जनाइएको छ । 

    यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यकपर्ने १७ रोपनी जग्गाका लागि करिब रु एक अर्ब मुआब्जा दिनुपर्ने अनुमान गरिएको छ । काभ्रेपलाञ्चोकको पूर्वी–दक्षणी क्षेत्र बिपी राजमार्गहुँदै आवागमन हुने सवारी काठमाडौँ–पूर्वी तराई गर्छन् । 

    उत्तरी नाका तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ । सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ । 

    आयोजनाले सूर्यविनायक–धुलिखेल सडक बिस्तारका लागि गत साउन पहिलो साता राजमार्ग छेउछाउमा सडक मापदण्डभित्रका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । डिभिजन सडक कार्यालय भक्तपुरले २०७६ सालमा सडक निर्माणस्थल खाली गराउन रुख कटानलगायतको काम गर्दै आए पनि केही समयमै सो कार्य रोकिएको थियो ।   

    सडक बिस्तार सम्पन्न भएपछि पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने अनुमान गरिएको छ । 

    हाल कोटेश्वरबाट लामा दूरीका सवारीसाधन मात्र दैनिक १ हजारभन्दा बढी छुट्ने गरेको जनाइएको छ । आयोजना निर्माण सम्पन्न भएपछि धुलिखेल–भक्तपुरको सवारी चाप निकै कम भई सडक बिस्तारमा अर्को फड्को मार्ने जनाइएको छ । 

    सङ्घीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । यी सडकबाट अरनिको राजमार्ग हुँदै प्रदेश नं १ र मधेस प्रदेशका नागरिक काठमाडौं आवतजावत  गर्दछन् । 

     


    images
    images

    Logo