काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड थप १५ दिन दिउँसोको समयमा यातायात बन्द गरिने भएको छ । पुल निर्माणका क्रममा भित्तो काट्न कठिन भएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो ।
गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । पछि माघ ६ गतेदेखि भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० बन्द गरिएको थियो । थप गरिएको समय फागुन ६ गते सकिँदैछ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सरोकारवालाको बैठकले थप १५ दिनका लागि सडक बन्द गरेर काम गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।
उहाँका अनुसार भित्तो काट्ने काम कठिन भएपछि मङ्गलबार जिल्ला प्रशासन कार्यालय चितवनले विस्फोटक पदार्थको अनुमतिका लागि मन्त्रालयमा सिफारिससमेत गरेको छ । अनुमति आएसँगै विस्फोट गराएर ढिस्को फोर्ने काम हुने उनले बताए ।
तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानको डाँडो रहेको छ । सो डाँडोलाई काट्न कठिन भएको हो । अन्य पुलको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इ कृष्ण आचार्यका अनुसार भित्तो काट्न कठिन हुने भएपछि विस्फोट गर्नका लागि फाइल विभाग हुँदै मन्त्रालय पठाइएको छ । उक्त फाइल रक्षा, गृह हुँदै अघि बढेको छ । विस्फोटको स्वीकृत भएसँगै भित्तोमा विस्फोट गर्ने योजना रहेको उहाँले बताए ।
सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वट पुल नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउ भिर भएको ठाउँमा अर्को पुल बनाउँदै गर्दा भित्तो काट्नुपरेको हो ।



