काठमाडौं । उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपानेको पधावधि थप गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उनको पदावधी १ वर्ष थप गरेको हो ।
२०७७ पुस २० गतेको मन्त्रिपरिषद्को निर्णयले न्यौपानेलाई २ वर्षका लागि नियुक्त गरेपनि उद्योग मन्त्रालयसम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ती तथा मनोनयन सम्बन्धि निर्देशिका, २०७८ को अनुसूची–४ को क्रमसंख्या १ र सोही निर्देशिकाको दफा ५ को व्यावस्था बमोजिम उनलाई आगामी पुस २० गतेबाट लागू हुनेगरि १ वर्ष थप गरि ३ वर्ष कायम गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तो छ भावी योजना : महाप्रबन्धक न्यौपानेका अनुसार उदयपुर सिमेन्ट उद्योगको कुल उत्पादन क्षमता भनेको १६ हजार बोरा रहेको बताए । तर न्यौपाने महाप्रबन्धक भएर सो उद्योगमा जाँदा ४ हजार बोरा मात्र उत्पादन भएको र त्यसलाई बढाएर हाल ७ हजार ४ सय बोरा उत्पादन गरिरहेको उनले बताए । आर्थिक बर्ष २०७७/७८ मा ३० करोड नोक्सानीमा रहेको सो उद्योग आ. ब. २०७८/७९ मा नाफा नोक्सान बराबरीमा पुगेको उनले बताए ।
अबको २ वर्षमा १६ हजार बोरालाई भेट्ने लक्ष्य रहेको र थप ६ हजार बोरा उत्पादन क्षमता थप गरेर २२ हजार बोरा उत्पादनको क्षमता बनाउने लक्ष्य रहेकाे न्यौपानेले बताए । त्यस्तै, सबै उद्योगमा क्याल्सनाइर प्रविधिको प्रयोग गर्ने र जसले गर्दा कोइलाको खपत २५ प्रतिशतसम्म कम हुने उनले उल्लेख गरे ।
न्यौपानेले भने, ‘क्याल्सनाइर प्रविधिको प्रयोग गर्दा २५ प्रतिशत लागतमा कम भयो र उता उत्पादन बढ्यो भने उत्पादन लागत कम भयो यसरी काम गर्दा हामीले सेलिङ प्राइजमा ठिकठिकै राख्दा पनि हामी प्रतिस्पर्धामा जान सक्छौं भनेर हामी त्यो लक्ष्यका साथ लागिपरेका छौं ।’
उनका अनुसार केही मेसिनलाई फेर्न र केहीलाई मर्मत गर्नका लागि कुल ५६ करोड ७५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसका लागि उद्योगले अर्थ मन्त्रालयमा र उद्योग मन्त्रालयमा फिक्सड एसेस्ट्सको लागि चाहिने बजेटका लागि सिफारिस गरेको र सो सिफरिस उद्योग मन्त्रालयबाट स्वीकृत भएर अर्थ मन्त्रालय पुगिसकेकोे न्यौपानेले जानकारी दिए ।
उदयपुर सिमेन्ट उद्योगसँग ३ सयदेखि ४ सय वर्षसम्मका लागि पुग्ने कच्चा पदार्थ उपलब्ध छन् । तर सिमेन्टको विकल्प निस्कदा उक्त पदार्थको उपयोग हुँदैन । त्यसैले सो पदार्थको छिटो उपयोग गर्न खानीका आसपासका जग्गाको उचित मूल्य दिएर लिने र हालको सिमेन्ट उद्योगलाई यथावत राखी सुकौराको खानीमै थप एउटा उद्योग खाल्ने योजना रहेको उनले बताए ।
जुन उद्योगले बजार विस्तारका लागि पनि सहज हुने उनले बताए । हाल १४ वटा ग्राण्ड युनिट छन्, ग्राण्डको सट्टा ग्राइण्डिङ युनिट (जसको आफ्नो खानी छैन) जहाँ यस उद्योगले व्यापार गर्न सक्ने र जसले गर्दा उद्योगको व्यापार बढ्ने उनले उल्लेख गरे । अब उद्योगमा पीपीसी सिमेन्टको पनि उत्पादन सुरु हुनेछ । जुन ठुला ठुला निर्माण कार्यका लागि प्रयोग हुने गर्दछ साथै भारतमा पनि यसको निर्यात गर्न सकिने भएकाले यसले नेपालको व्यापार पनि बढ्ने उनले उल्लेख गरे ।



