images
images

टेकबहादुर गुरुङलाई निर्वाचन आयोग प्रश्न, 'मतदाता धम्क्याएको कुरा के हो ?'


  • 540
    SHARES
  • २०७९ कार्तिक २६ गते शनिबार

    टेकबहादुर गुरुङलाई निर्वाचन आयोग प्रश्न, 'मतदाता धम्क्याएको कुरा के हो ?'

    काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका तर्फबाट मनाङ जिल्लाका प्रतिनिधि सभा सदस्य उम्मेदवार टेकबहादुर गुरुङलाई स्पष्टीकरण सोधेको छ । “हेलीकोप्टरमा दलबल सहित गएका टेकबहादुर गुरुङले मतदातालाई धम्काएपछि स्थानीयद्वारा प्रतिकार” भन्ने विषयको समाचार नयाँ पेज अनलाइनमा प्रकाशन भएको सन्दर्भमा आयोगको गम्भीर ध्यानाकर्षण भएकाले आयोगले पत्र लेखेको हो ।

    निर्वाचन आचारसंहिता, २०७९  को दफा १४  मा सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणहरु उल्लेख गरिएको छ । सोही आचारसंहिताको दफा १४ को उपदफा (१) को खण्ड ९क० मा “निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोके बमोजिम बढीमा दुईपाङ्ग्रे वा तीनपाङ्‍ग्रे वा चारपाङ्‍ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने तर विदेशी नम्बर प्लेटको सवारी साधनलाई त्यस्तो अनुमति दिइने छैन” भन्ने व्यवस्था छ ।

    साथै उपदफाको खण्ड (ख) मा “कुनै पदको निर्वाचन प्रचारप्रसारको लागि राजनीतिक दलले खण्ड (क) बमोजिमको प्रक्रिया पूरा गरी सोही बमोजिमको सङ्ख्या र प्रकारका सवारी साधन मात्र प्रयोग गर्नुपर्ने” व्यवस्था छ ।  आचारसंहिताको दफा १४  को उपदफा (१) को खण्ड (छ) मा “राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने ।” भन्ने व्यवस्था छ ।

    स्पष्टीकरणमा कुनै माध्यमबाट प्राप्त भएको  २४  घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय मनाङमा स्वयम उपस्थित भई सत्यतथ्य व्यहोरा खुलाई लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ ।


    images
    images

    Logo