images
images

२ महिनामा शोधनान्तर घाटा २३ अर्ब ६८ करोड पुग्याे, १९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स


  • 497
    SHARES
  • २०७९ कार्तिक ४ गते शुक्रबार

    २ महिनामा शोधनान्तर घाटा २३ अर्ब ६८ करोड पुग्याे, १९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

    काठमाडौं । चालु आर्थिक वर्षको २ महिनामा शोधनान्तर  स्थिति २३ अर्ब ६८ करोड घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २ महिनाको तथ्यांक अनुसार सो रकम बराबर शोधनान्तर घाटा देखिएको हो । 

    अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८० करोड ९ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १८ करोड ५९ लाखले घाटामा रहेको देखिएको छ । 

    समीक्षा अवधिमा चालु खाता ३७ अर्ब १८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६ अर्ब ८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ५९ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड १७ लाखले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    सो अवधिमा पुँजीगत ट्रान्सफर १६.९ प्रतिशतले वृद्धि भई १ अर्ब ४६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाखले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब २५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ४ करोड रहेको थियो ।

    दुई महिनामा १९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स 

    आर्थिक वर्षको २ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १९.८ प्रतिशतले वृद्धि भई १ खर्ब ८७ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोहीअवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।

    यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १६९.९ प्रतिशतले वृद्धि भई १ लाख ३ हजार ८ सय ९८ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९ हजार १ सय ८९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९.५ प्रतिशतले बढेको थियो । 

    विदेशी विनिमय सञ्चिति
    भदौ मसान्तमा कुल विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा ११ खर्ब ८९ अर्ब १६ करोड कायम रहेको छ । सो अवधिमा  अमेरिकी डलरमा यस्तो सञ्चिति ९ अर्ब ३५ करोड कायम भएको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १० खर्ब ५१ अर्ब ५३ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा भदौ मसान्तमा १३.७ प्रतिशतले कमी आई १ खर्ब ३७ अर्ब ६३ करोड कायम भएको छ । सो अवधिमा कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।


    images
    images

    Logo