दमौली । तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८ ७९ मा ४ करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिएका छन् । ८ हजार ८ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने ८ सय ७२ दु्रत सेवाका लागि सिफारिस गरिएको छ ।
कार्यालयले एक वर्षको अवधिमा विभिन्न शीर्षकबाट ४ करोड ८० लाख राजस्व सङ्कलन गरेको छ । संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक दण्ड जरिवाना, प्रशासनिक दण्ड, जरिवाना र जफत, बेरुजु र परीक्षा शुल्कबाट उक्त राजस्व सङ्कलन गरेको हो । सो अवधिमा ५२ मुद्दा दर्ता भएको छ ।
दुई हजार चार सय ७० जनालाई आदिवासी जनजाति प्रमाणित, एक हजार ८० जनालाई दलित प्रमाणित, एक हजार आठ सय ७८ लाई पेन्सन सिफारिस गरिएको छ। कार्यालयमा ८४ संस्था नयाँ दर्ता भएकोमा ७ सय ८५ संस्थाको नवीकरण भएको छ । ९९ हातहतियार नवीकरण भएकोमा छ वटा नामसारी गरिएको छ । यस अवधिमा एक पत्रपत्रिका दर्ता भएको कार्यालयले जनाएको छ।



