images
images

यती एयरलाइन्सद्वारा नयाँ विमान थप


  • 773
    SHARES
  • २०७९ भाद्र २० गते सोमबार

    यती एयरलाइन्सद्वारा नयाँ विमान थप

    काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एयरलाइन्सले नयाँ विमान थप गरेको छ । यसअघि ५ वटा विमान सञ्चालन गर्दै आएको यतीले आजदेखि नयाँ विमान थप गरेको हो । 

    यती एयरलाइन्सको छैटौँ विमान आज दिउँसो ३ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।

    यतीले ७० सिट क्षमताको उक्त विमान अष्ट्रेलियाको एभिएसन कम्पनीसँग लिजमा ल्याएको हो । उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अस्ट्रेलिया, सिङ्गापुर, थाइल्याण्ड हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याउएका हुन् ।

    एमएसएन नं ९८६ सिरिजको उक्त विमानको पहिलो उडान सन् २०११ मा भएको थियो । जम्मा १० हजार साइकल मात्र उडान गरेको उक्त विमान नेपालमा उडान गर्ने अन्य विमानभन्दा पछिल्लो विमान भएको सो एयरलाइन्सले जनाएको छ । १ अवतरणमा एक साइकल गणना हुने उक्त विमानको जम्मा ७० हजार साइकल उडान गर्नसक्ने क्षमता रहेको छ ।

    विमान सङ्ख्या थप गरेको यतीले हाल उडान गर्ने गन्तव्यमा नै सेवा विस्तार गर्ने नीति लिएको प्रवक्ता बर्तौलाले जानकारी दिए । “विमानको आवश्यक कागजी प्रक्रिया पूरा गरी रङरोगन गरेपश्चात् विमानले दसैँ अगाडि नै उडान गर्नेछ, यसले गर्दा दसैँको बेला हुने टिकट अभावलाई पूरा गर्न सहयोग पुग्ने विश्वास लिएका छौँ”, प्रवक्ता बर्तौलाले भने ।

    यतीले चालु आर्थिक वर्षमा अर्को विमान थप गर्ने लक्ष्यसमेत लिएको छ । विमान थप भएपछि ५ वटा विमानलाई आधार बनाई उडान गर्ने र एउटा विमानलाई जगेडामा राखी मर्मत तथा उडान ढिला हुँदा प्रयोग गरिने सो एयरलाइन्सले जनाएको छ ।

    नयाँ थप गरिएको एटीआर ७२–५०० टर्बोप्रप विमान अन्य विमानभन्दा उत्कृष्ट भएको सो एयरलाइन्सले दाबी गरेको छ । उक्त विमानमा यात्रा गर्दा कम आवाज र कम्पन हुने प्रवक्ता बर्तौलाको भनाइ छ । उक्त विमानले अन्य विमानको तुलनामा कम कार्बन उत्सर्जन गर्नेछ ।

    यतीले हाल नेपालको राजधानी काठमाडौँबाट चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्जलगायतका ठाउँमा उडान गर्दै आएको छ भने सो एयरलाइन्सको भगिनी संस्था तारा एयरले लुक्ला, फाप्लु, मुस्ताङ, हुम्ला, जुम्लालगायका ठाउँमा उडान भर्दै आएको छ । 


    images
    images

    Logo