काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को आर्थिक समृद्धि र पुनरुत्थान केन्द्रीत भएको बताएका छन् । आइतबार अर्थ मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बजेट पछिको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन् । ‘बजेट कार्यान्वयन गर्न गाह्रो नभएको बताउँदे उनले भने भने ‘म यो बजेट कार्यान्वयन गरेर देखाउने छु ।’
पौडेलले कोभिड–१९ को समस्यामा ल्याइएको बजेट आर्थिक पुनरुत्थान र आर्थिक संवृद्धिमै केन्द्रित हुने गरी कार्यान्वयन गरेर देखाउने दावी गरे । ‘यो सरकारले बजेट कार्यान्वयन गर्छ । यसमा दुविधा राख्नुपर्ने छैन,’ उनले भने ।
बजेटपछि आयोजना गरिएको कार्यक्रमा अर्थमन्त्री पौडेलले आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउने बताए । मन्त्री पौडेलले भोलिदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने प्रतिवद्धता पनि गरे । कार्यान्वयनको अभियानलाई तीव्रता दिएर अघि बढ्ने बताए ।
अर्थमन्त्री पौडेलले सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको बताउँदै निर्वाचन स्वतन्त्र निष्पक्ष ढंगले सम्पन्न गर्ने प्रतिवद्धता पनि गरे ।
‘निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्न सम्पूर्ण सामथ्र्य लगाउने छौं,’ उनले भने ‘निर्वाचनलाई महत्व दिएर आवश्यक बजेट विनियोजन गरिएको छ ।’
सरकारले महामारी नबिर्सिएको र मुख्य चुनौतीको रुपमा स्वीकार गरेर पनि बताए । खोप लगाएपछि अर्थतन्त्र चलायमान हुने र पुरानै लयमा फर्किने विश्वासका साथ राजस्वको लक्ष्यहरु निर्धारण गरिएको स्पष्ट पनि उनले पारे । अर्थमन्त्री पौडेलले मतदाता प्रभावित पार्न नभई जिम्मेवारी पूरा गर्ने हिसावले बजेट ल्याएको दावी गरे । यसैको आधारमा समृद्धिको सपना साकार गर्ने प्रतिबद्धता पनि उनले गरे ।



