काठमाडौं । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलरको मूल्य फेरि नेपालकै इतिहासमा नयाँ उचाइ कायम गरेको हो।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २६ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय २७ रुपैयाँ ३० पैसा कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । अब अमेरिकी १ डलर खरिद गर्न नेपाली १ सय २७ रुपैयाँ ३० पैसा खर्च गर्नुपर्ने भएको छ ।
बुधवारको विनियम दर नेपालमा हालसम्मकै उच्च हो। यसअघि असार १९ गते प्रतिडलर खरिददर १२६ रुपैयाँ ७८ पैसा कायम भएको थियो। जुन अहिलेसम्मकै उच्च थियो। सो रेकर्डलाई तोड्दै आज फेरि डलरको मूल्य बढेर नयाँ उच्च् मूल्य कायम भएको छ ।
नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेका कारण पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ।
डलरको भाउ बढ्नेबित्तिकै विदेशी सामानहरू नेपालीका लागि महँगो हुन जाने भएकाले यसको असर प्रत्यक्ष रुपमा नेपाली अर्थतन्त्रमा समेत देखिन्छ ।



