images
images

एसईईको नतिजा असार ३२ गते सार्वजनिक हुने


  • 1.1K
    SHARES
  • २०७९ आषाढ ६ गते सोमबार

    एसईईको नतिजा असार ३२ गते सार्वजनिक हुने

    काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा असार ३२ गते सार्वजनिक हुने भएको छ । एसईईका परीक्षा नियन्त्रक अर्जुन रायामाझीका अनुसार यस अघि चार महिनामा सार्वजनिक हुँदै आएको परीक्षाफल यसवर्ष करिब दुई महिनामै हुन लागेको हो । 

    कार्यालयका अनुसार, हाल उत्तर पुस्तिका परीक्षणको काम सम्पन्न गरी सम्परिक्षणको काम समेत अन्तिम चरणमा पुगेको छ भने कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्ने लगायतका काम भइरहेको छ । सम्पुर्ण काम सकेर असारको अन्तिम दिन अर्थात् असार ३२ गते नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रक रायामाझीले बताए ।

    कार्यालयले कार्ययोजना नै बनाएर नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । जसअनुसार, असार २० सम्ममा प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने उल्लेख छ । 

    गत वैशाख ९ गते शुरु भएको एसईई परीक्षा २० गते सकिएको थियो । परीक्षा नियन्त्रक रायामाझीका अनुसार, दुई हजार ७ परीक्षा केन्द्रमा सञ्चालन गरिएको परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागि भएका थिए । सहभागीमध्ये २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र परीक्षामा सहभागी थिए । 

    कार्याययका अनुसार, एसईईमा ११ हजार छ सय १५ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो भने ६१ विषयमा परिक्षा सञ्चालन भएको थियो । नियमित तालिकाअनुसार चैतमा एसईई हुने गरेको एसईई परिक्षा यसवर्ष कोरोना महामारीका कारण वैशाखमा भएको थियो । 

    परीक्षा सकिए लगत्तै देशव्यापी रुपमा स्थानीय तहको निर्वाचन भएका कारण कार्यालयलाई परीक्षाका सामाग्री ढुवानी र उत्तर पुस्तिका ढुवानीमा समय लागेको बताइएको छ । अघिल्ला दुई वर्ष २०७६ र २०७७ सालमा कारोना महामारीका कारण परिक्षा सञ्चालन गर्न नसक्ने अवस्था आएपछि आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरिएको थियो ।


    images
    images

    Logo