images
images

सम्झौताअनुसार रासायनिक मल नल्याउने ५ कम्पनी परे कारबाहीमा


  • 515
    SHARES
  • २०७९ आषाढ ५ गते आइतबार

    सम्झौताअनुसार रासायनिक मल नल्याउने ५ कम्पनी परे कारबाहीमा

    काठमाडौं । ठेक्का सम्झौताअनुसार रासायनिक मल नल्याउने पाँच कम्पनी कारबाहीमा परेका छन् । मल ढुवानीको जिम्मा पाएर पनि समयमा नल्याउने त्यस्ता कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले कारबाही गर्ने भएको हो । 

    चीनसँग खरिद गरेको १ लाख ५ हजार मेट्रिक टन रासायनिक मल ढुवानीका कम्पनीले सिल्क मार्केट, सिल्क विथ, सिल्क सिनोम्याक, जेन्ट  ट्रेडर्स र डेस ट्रेडिङसँग ढुवानीका लागि ठेक्का सम्झौता गरेको थियो । त्यसमध्ये सिल्क मार्केटले ५ हजार मेट्रिक टन र बाँकी चारवटा कम्पनीले  २५ हजार मेट्रिक टनका दरले मल ल्याउनुपर्ने गरी सम्झौता गरिएको थियो तर सम्झौता भएअनुसार कुनै पनि कम्पनीले मल नल्याएपछि  कारबाहीका लागि बाध्य भएको कम्पनीका कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए  ।  

    उनका अनुसार ती सबै कम्पनीलाई सार्वजनिक खरिद ऐन (११औँ संशोधन) अनुसार कारबाही गरिएको छ । कम्पनीले मल ल्याउने सुनिश्चितताका लागि पटक–पटक ती कम्पनीसँग आधिकारिक पत्र माग गरेको थियो तर मल आउने कुनै आधार नदेखेपछि कारबाहीको विकल्प नरहेकोले त्यसैअनुसार प्रक्रिया अघि बढाइएको कार्कीले जानकारी दिए । 

    “ऐनअनुसार मल आउने आधार भए म्याद थप्न सकिन्थ्यो तर उनीहरूले त्यस्तो आधार नै देखाउन नसकेपछि कारबाही गरिएको हो,” उनले भने । कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मल ल्याउनका लागि चालू आवमा मात्रै २१ पटक अन्तर्राष्ट्रिय बोलपत्र आह्वान  गरेको  थियो  । कम्पनीले चालू आवका लागि ५५ हजार मेट्रिक टन डीएपी र ५० हजार मेट्रिक टन युरिया ढुवानीका लागि बोलपत्र जारी गरेको थियो ।


    images
    images

    Logo