काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना सबै वडामा जाने बजेटको सिलिङ निर्धारण गरेको छ । असार १० गते प्रस्तुत हुने बजेटका लागि महानगरपालिकाले उक्त सिलिङ निर्धारण गरेर पठाएको हो ।
यस्तो सिलिङ अनुसार वडाबाट योजना छनौट र खर्च हुनेगरी कुल २ अर्ब ७१ करोड खर्च गर्नेगरी सिलिङ निर्धारण गरिएको छ । यसमध्ये पूर्वाधार विकासका लागि २ अर्ब ६७ करोड २४ लाख ५० हजार रुपैयाँ र अन्य खर्चका लागि ४ करोड १७ लाख ६० हजार रुपैयाँको सिलिङ तोकिएको छ ।
प्रत्येक वडाले बैठक भत्ता, पानी र बिजुली, सञ्चार महशुल, मसलन्द तथा कार्यालय समामग्री, पत्रपत्रिका, छपाइ तथा सूचना प्रकाशन र विविध शीर्षकमा १३ लाख ५ हजार रुपैयाँ खर्च गर्न पाउनेगरी सिलिङ तोकिएको छ ।
प्रशासनिक, सामाजिक विकास र अन्य कार्यक्रमको लागि ठूला वडालाई ४० लाख ५ हजार, मझौलाका लागि ३४ लाख ५५ हजार र साना वडाको लागि २९ लाख ५५ हजार बराबरको सिलिङ तोकिएको छ ।
पूर्वाधारको लागि भने ठूला वडामा १० करोड, मझौला वडामा ७ करोड ५० लाख र साना वडामा ५ करोड बजेट विनियोजन गरिएको छ ।
महानगरले १५ वटालाई ठूला, १० वटालाई मझौला र ७ वटालाई साना वडाको रुपमा वर्गीकरण गरेको छ । ठूला वडाहरुमा १, ३, ४, ६, ७, १०, ११, १३, १४, १५, १६, २६, ३१ र ३२ नम्बर वडा रहेका छन् । मझौला वडामा २, ५, ८, १७, २२, २४, २५, २८, २९ र ३० नम्बर वडा तथा साना वडामा १२, १८, १९, २०, २१, २३ र २७ नम्बर वडा रहेको छन् ।



