काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न १९ वटा निर्णय गरेको छ । मंगलबार बसेको बैठकले विभिन्न मन्त्रालयको प्रस्तावमा यी निर्णयहरु गरेको हो ।
निर्णय अनुसार सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाको राजीनामा स्वीकृत गरी मोहनकुमार सापकोटालाई नियुक्त गरिएको छ ।
त्यस्तै, एमसीसी रातमाटे सवस्टेसन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरिएको छ । उता जापान सरकारले दिन लागेको ३६ करोड रुपैयाँ बराबरको अनुदान स्वीकार समेत गरिएको छ ।
बैठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको स्वीजरल्याण्ड भ्रमण स्वीकृत गरेको छ । अर्थ मन्त्रालयकै प्रस्तावमा राष्ट्रिय बीमा कम्पनीका अध्यक्षमा राजेश्वर ज्ञवालीलाई मनोनयन गर्ने निर्णय समेत गरिएको छ ।
बैठकले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गरेको छ । समितिमा प्रा. सुदर्शन नेपाललाई अध्यक्ष तोकिएको छ । उक्त समितिको कार्यकाल ३ महिना हुनेगरी तोकिएको छ ।
श्रम रोजगार तथा सामाजक सुरक्षा मन्त्रालयले केही दिनअघि बेलायतसँग गरेकाृे श्रम सम्झौतालाई समेत बैठकले अनुमोदन गरेको छ ।
तारागाउँ विकास समितिमा समेत बैठकले केही नयाँ नियुक्ति गरेको छ । जसको अध्यक्षमा सुरेशराज जोशी र सदस्य सचिवमा महेन्द्रकुमार थापालाई नियुक्ति गरिएको छ ।




