काठमाडौं । राजस्व अनुसन्धान विभागको महानिर्देशकमा झलकराम अधिकारी नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सह सचिव झलकराम अधिकारीलाई राजस्व अनुसन्धान विभागको महानिर्देशक नियुक्त गरेको हो ।
महानिर्देशक नियुक्त भए लगत्तै बुधबारदेखिनै अधिकारीले जिम्मेवारी सम्हालेका छन् । सरकारले अधिकारीलाई महानिर्देशक बनाउने तयारी गरेपछि निवर्तमान महानिर्देशक प्रकाश पौडेल सोमबारनै विभागबाट बिदा भएका थिए । पौडेलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरूवा भएको जनाइएको छ ।
महानिर्देशक अधिकारीसँग राजस्व समूहमा लामो समय काम गरेको अनुभव छ । अधिकारीले ठुला करदाता कार्यालयको प्रमुख तथा कर प्रशाशकको रुपमा काम गरेका थिए । कर चुहावट र छलीका विषयमा अनुसन्धान गर्ने राजस्व अनुसन्धान विभागलाई शक्तिशाली विभागको रूपमा लिने गरिन्छ ।



