काठमाडौं । मासिक ५० हजारसम्म कमाउने व्यक्तिले कर तिर्नु नपर्ने भएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत् यस्तो व्यवस्था गर्न लागिएको हो । यसअनुसार वार्षिक ६ लाखसम्म आय भएका व्यक्तिले सामाजिक सुरक्षा करबापतको १ प्रतिशत मात्रै कर बुझाउनु पर्नेछ । आयकर भने यसमा पूर्ण रुपमा छुट हुनेछ ।
अहिले एकल व्यक्तिलाई ४ लाख र विवाहितको हकमा ४ लाख ५० हजारसम्म कमाउनेलाई कर छुट भए पनि सोभन्दा बढीमा कर लाग्ने व्यवस्था गरिएको छ । यसअनुसार तोकिएको सीमाभन्दा १ लाखसम्म बढी कमाउँदा १० प्रतिशत, २ लाख कमाउँदा १५ प्रतिशत, १० लाखसम्म कमाउँदा २० प्रतिशत २० लाखसम्म कमाउँदा ३० प्रतिशत र त्यसभन्दा बढी कमाउँदा ३६ प्रतिशतको दरले व्यक्तिगत आयकर लिने व्यवस्था छ ।
सरकारले अहिले अविवाहितको हमा ५ लाख ५० हजार र विवाहितको हकमा ६ लाखको सीमा निर्धारण गर्न लागेको हो । यो सीमा वृद्धिसँगै अरु दरको सीमाबारे पनि छलफल भइरहेको छ । करको विषय अन्तिम समयमा छलफल हुने भएकोले यसबारे अन्तिम छलफलकै क्रममा रहेको अर्थ मन्त्रालय स्रोतको भनाइ छ ।
नेपालमा आयकरको स्ल्याब परिवर्तन नभएको वर्षाै भइसकेको छ । यसअघि केपी शर्मा अाेली नेतृत्वको सरकारको पालामा यो दर बढाउन व्यापक दवाव आए पछि यसमा परिमार्जन भएको थिएन । मुद्रास्फीति बढ्दै जाँदा जीवनयापन महँगो भएकोले ४ लाख रुपैयाँमै करको सीमा तोक्दा अप्ठ्यारो भएको भन्दै यो सीमा परिमार्जन गर्न लागिएको छ ।
अहिले छिमेकी राष्ट्र भारतमा ५ लाख भारतीय रुपैयाँ आम्दानी हुनेलाई आयकर छुट गरिएको छ ।



