images
images

खेतबारी बाँझै, ११ अर्बको फलफूल आयात, कुन फलफुलमा कति रकम बाहिरियाे ?


  • 535
    SHARES
  • २०७९ बैशाख १२ गते सोमबार

    खेतबारी बाँझै, ११ अर्बको फलफूल आयात, कुन फलफुलमा कति रकम बाहिरियाे ?

    काठमाडौं ।  जनजीविका, रोजगारी र आर्थिक एवं सामाजिक रुपान्तरणको प्रमुख आधारका रुपमा रहेको कृषि मुलुकको अर्थतन्त्रको एक प्रमुख क्षेत्र रहँदै आएको भए पनि उच्चमात्रामा आयात भएको पाइएको छ । विद्यालयमा पढाउँदा होस् या सामान्य कुराकानीमा पनि ‘नेपाल कृषिप्रधान देश हो’ का रुपमा सङ्ज्ञा दिइन्छ । 
     
    नेपालको कूल गार्हस्थ उत्पादन ९जिडिपी०मा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी रहेको तथा दुई तिहाइभन्दा बढी जनता कृषिमा आश्रित रहेको तथ्याङ्क समयसमयमा सार्वजनिक भएकै छन् । आर्थिक सर्वेक्षण २०७७÷०७८ मा कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५ दशमलव ८ रहने अनुमान गरिएको थियो भने चालू आर्थिक वर्षमा कृषि क्षेत्रको जिडिपीमा योगदान २७ प्रतिशत बराबर रहेको राष्ट्रिय तथ्याङ्क विभागको बिवरणले देखाएको छ । 

    विभागका अनुसार नौ महिनाको अवधिमा प्रमुख फलफूल मात्रै  ११ अर्ब ७० करोड ८९ लाख २६ हजार बराबरको आयात भएको देखिन्छ । मुलुकको आर्थिक क्षेत्रमा कृषिको योगदान उल्लेख्य रहे पनि अझै कूल कृषियोग्य जमिनमध्ये धेरै बाँझो छ । यस्ता कृषियोग्य भूभागको थोरै मात्रको सही र ब्यवस्थित उपयोग गर्नसके कृषिजन्य उपभोग्य वस्तुमा आत्मनिर्भर हुने अवस्था ल्याउन सकिन्छ । यस्ता उपभोग्य वस्तु आयात गरी अबौं रकम विदेशिनबाट जोगिन सक्ने देखिन्छ । 

    निर्वाहमुखी खेतीका कारण उल्लेख्य मात्रामा कृषिउपज उत्पादन हुन नसक्दा विप्रेषणबाट आयात भएको ठूलो धनराशि विदेशिएको छ । पहाडका अधिकांश भूभाग बाँझो छ । नेपालको कूल खेतीयोग्य जमिनमध्ये सात प्रतिशत बराबरको जमिन बाँझो छ । झण्डै  ६० अर्ब बराबरको खाद्यान्न आयात भएको छ । त्यस्तै १८ लाख किलो सुर्ती तथा सुर्तीजन्य पदार्थ आयात भएको छ । 

    यसले देशभित्र केही पनि उत्पादन हुँदैन भन्ने सन्देश गएको छ । दैनिक दुई हजारको सङ्ख्यामा नेपाली युवा रोजगारीको खोजीमा विदेशिने गरेका छन् । अनौपचारिक तथ्याङ्कअनुसार झण्डै ४० लाख युवा विदेशमा छन् । 

    विप्रेषणबाट आयात भएको ठूलो धनराशि उपभोग्य वस्तुमा खर्च हुँदा त्यसले औद्योगिक वातावरणसमेत बनाउन सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषणबाट आप्रवाह भएको रकमको झण्डै ७५ प्रतिशत बराबर हिस्सा उपभोग्य वस्तु खरीदमा खर्च भएको छ । विप्रेषणलाई आर्थिक समृद्धिमा नलगाउँदासम्म त्यसले दीर्घकालीन र रणनीतिक प्रभाव पार्न नसक्ने विभिन्न अध्ययनले देखाएको छ । 
     
    भन्सार विभागले चालू आवको पहिलो नौ महिनाको आयात र निर्यातको अवस्थाबारेमा सार्वजनिक गरेको विवरणानुसार मुलुकले उपभोग्य वस्तुको आयातबाट अर्बौं रकम बाहिर पठाएको देखिन्छ भने नेपालमै उत्पादन गर्न सकिने कृषि उपजसमेत अत्याधिक आयात भइरहेका छन् । धान, मकै, कोदो जस्ता प्रमुख खाद्यबालीका साथै फलफूल आयातमा अर्बौं मुद्रा मुलुक बाहिर गएको देखिन्छ । 

    चालू आर्थिक वर्षको पहिलो नौ महिनाका अवधिमा देशमा ११ अर्बभन्दा बढी रकमका ताजा तथा सुकेका फलफूल आयात भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 
     
    ५ अर्ब ५६ करोडको स्याउ आयात 

    विभागका अनुसार चालू आवको चैत मसान्तसम्म ५ अर्ब ५६ करोड १३ लाख ५३ हजार मूल्य बराबरको छ करोड ९४ लाख ११ हजार ९४३ केजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले ५३ करोड २३ लाख ३७ हजार बराबरको राजस्वसमेत सङ्कलन गरेको छ । 

    स्याउ चीन सबैभन्दा धेरै मुलुकमा भित्रिएको तथ्याङ्कमा देखिन्छ । चीनबाट मात्र चार अर्ब ४० करोड ३४ लाख ७७ हजार मूल्य बराबरको स्याउ आयात भएको छ । त्यस्तै भारतबाट एक अर्ब १५ करोड ५० लाख ८९ हजार, टर्कीबाट २६ लाख २५ हजार र गिनी बिसाउबाट १ लाख ६१ हजार बराबरको स्याउ आयात भएको विवरण छ । 

    १ अर्ब बढीको अङ्गुर आयात

    चालू आर्थि वर्षको चैत मसान्तसम्म १ अर्ब ६४ करोड ६५ लाख २४ हजारका दुई करोड ४० लाख आठ हजार ९ सय ५७ केजी ताजा अङ्गुर आयात भएको देखिन्छ । त्यसबाट सरकारले ८ करोड ३४ लाख ६२ हजारर राजस्व सङ्कलन गरेको जनाइएको छ । 

    केरा आयातबाट १ अर्ब ३१ करोड बाहिरियो

    नेपालीले ९ महिनाका अवधिमा १ अर्ब ३१ करोड १८ लाख एक हजार बराबरको केरा आयात गरेको छ । चालू आवको चैत मसान्तसम्म कूल १ करोड ६१ लाख ७७ हजार ४ सय ५८ केजी केरा आयात भएको देखिन्छ । त्यसबाट सरकारले १३ करोड ६९ लाख ८० हजार राजस्व सङ्कलन गरेको छ । 

    विभागको विवरणानुसार सुन्तलाको आयात पनि उस्तै छ । ९ महिनाको अवधिमा मात्रै १ अर्ब २० करोड ८८ लाख ६१ हजार बराबरको दुई करोड २२ लाख ५३ हजार ९ सय ९१ केजी सुन्तला आयात भएको छ । 

    त्यस्तै चैत मसान्तसम्म ९७  लाख ८८ हजार ७ सय ६३ केजी अनार आयात भएको छ । त्यसका लागि १ अर्ब १ करोड ८४ लाख ७६ हजार रकम बाहिरिको छ । खरबुजा १ करोड ३ लाख ४७ हजार ८ सय ६० केजी बराबरको आयात भएको छ । सो खरबुजाको आयात मूल्य  २७ करोड ४३ लाख १४ हजार बराबर छ । 

    नेपालको हावापानी सुहाउँदो फलका रुपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ । विभागका अनुसार चालू आर्थिक वर्षको ९ महिनामा ४७ लाख १६ हजार ८ सय ६० केजी मेवा आयात भएको देखिन्छ । मेवाको आयात मूल्य मात्रै  १६ करोड ५२ लाख २६ हजार बराबर छ । 

    नास्पाती १९ लाख ६६ हजार १९ केजी  १३ करोड ५० लाख ६७ हजार बराबरको आयात भएको छ । भुँइकटहर २३ लाख ६४ हजार ६ सय ६६ किलो १० करोड ६० लाख ९१ हजारको आयात भएको छ । 

    व्यावसायिकरुपमा खेती गर्न सकिने किबी १ लाख ९६ हजार ७२ किलो आयात भएको छ । त्यसको आयात मूल्य ४ करोड ६३ लाख ७३ हजार आयात मूल्य देखिन्छ । १ लाख ५६ हजार ४ सय ५९ किलो एभोगाडो ४ करोड ३८ लाख ३६ हजार बराबरको आयात भएको छ ।


    images
    images

    Logo