images
images

२६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम


  • 149
    SHARES
  • २०८३ भाद्र ६ गते शनिबार

    २६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

    काठमाडौं । देशका प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमानसँगै २६ जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाले शनिबार बिहान ८ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली तथा तिनका सहायक नदीहरू सतर्कता तहभन्दा तल बगिरहेका छन्। कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि हालसम्म सतर्कता तहभन्दा तल नै रहेको छ।

    आगामी तीन दिन कोशी र नारायणी बेसिनका नदीमा जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। कोशी बेसिनअन्तर्गतका तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी लगायतका नदीमा बहाव बढ्ने महाशाखाले जनाएको छ।

    त्यस्तै, नारायणी बेसिनअन्तर्गत नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकी नदीमा पनि जलसतह उल्लेख्य बढ्ने सम्भावना छ। कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा भने बहाव सामान्य रूपमा बढ्ने पूर्वानुमान छ।

    महाशाखाका अनुसार शनिबार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र डोटी आसपास भएर बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्नेछ।

    यी जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। साथै, भोलि र पर्सि गण्डकी तथा लुम्बिनी प्रदेश भएर बहने केही साना नदीमा समेत बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

    महाशाखाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई बाढीको सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन तथा नदीको बहाव बढेको अवस्थामा सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।

    780086537_4467760533439600_7966677277950556166_n


    images
    images

    Logo