images
images

बाल सुधारगृहको विस्तृत अवस्था प्रतिवेदन पेस गर्न निर्देशन


  • 206
    SHARES
  • २०८३ श्रावण २७ गते बुधबार

    बाल सुधारगृहको विस्तृत अवस्था प्रतिवेदन पेस गर्न निर्देशन

    काठमाडौँ । प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिले देशभर सञ्चालनमा रहेका बाल सुधार गृहको भौतिक पूर्वाधार, क्षमता, जनशक्ति तथा बालबालिकाको अवस्था समेटिएको विस्तृत प्रतिवेदन ४५ कार्यदिनभित्र पेस गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ।

    सिंहदरबारस्थित समितिमा बुधबार भएको बैठकले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई अन्य सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय गरी उक्त प्रतिवेदन तयार गर्न निर्देशन दिएको हो।

    बैठकले मुलुकभर सञ्चालित बाल सुधार गृहमा रहेको भौतिक पूर्वाधारको अवस्था, स्वीकृत क्षमता र वास्तविक सङ्ख्या, क्षमताभन्दा बढी बालबालिका राखिएको अवस्था तथा उमेर र कसुरको प्रकृतिअनुसार उपयुक्त व्यवस्थापन भए–नभएको स्पष्ट पार्न भनेको छ।

    साथै आवास तथा सरसफाइ, खानपान तथा पोषण, स्वास्थ्य सेवा, शिक्षा, मनोसामाजिक परामर्श, खेलकुद, सीप विकास, मनोरञ्जन, सुरक्षा व्यवस्था, बालमैत्री वातावरण तथा सुधार र पुनःस्थापनाका कार्यक्रमको अवस्थासमेत प्रतिवेदनमा समेट्न निर्देशन दिइएको छ।

    यसअघि समितिको स्थलगत अनुगमनबाट समेत कतिपय बाल सुधार गृहमा क्षमताभन्दा बढी बालबालिका राखिएको, भौतिक पूर्वाधार अपर्याप्त रहेको तथा व्यवस्थापनमा समस्या देखिएकाले सुधारका लागि समितिले अग्रसरता लिएको हो।

    बाल सुधारगृहको भौतिक पूर्वाधार र मानव संसाधनको विस्तृत अवस्था, देखिएका समस्या, सुधार गर्नुपर्ने क्षेत्र तथा आवश्यक कार्ययोजनासहितको प्रतिवेदन समितिसमक्ष पेस गर्न भनिएको छ । समितिका सभापति आकृति अवस्थीको सभापतित्वमा भएको उक्त बैठकले सो मन्त्रालयलाई नेपाल सरकारको मातहतमा रहेका तथा निजी एवं सङ्घसंस्थाबाट सञ्चालित बाल गृह, वृद्धाश्रम र महिला सुरक्षित आवास गृहको तथ्याङ्क सङ्कलन गर्न सुझाव दिएको छ।


    images
    images

    Logo