काठमाडौं । नेपाल रेडक्रस सोसाईटीमा देखिएका भ्रष्टाचार,बेथिति र अनियमितता सम्बन्धि उजुरी संकलन गर्ने समयावधि थपिएको छ । ३५ दिनको समय अपुग भएको भन्दै समितिले उपशाखादेखि केन्द्रसम्ममा भएका अनियमितताका सम्बन्धमा उजुरी दिने सयम २० दिन थप गरेको हो ।
रेडक्रस अनियमितता छानवीन समितिले मंगलवार पत्रकार सम्मेलन गरेर आगामी भदौ ३ गते बुधबारसम्म उजुरी दिन सकिने जनाएको हो । समितिका अध्यक्ष डा.दिपेश घिमिरेले उजुरी दिएर संस्थाको सुशासन, पारदर्शिता र जनविश्वास जगाउनका लागि सहयोग गर्न सबैमा आग्रह गरे ।
प्राप्त सबै सूचना तथा उजुरीलाई निष्पक्ष, स्वतन्त्र र गोप्य ढंगले व्यवस्थापन गरिने घिमिरेको भनाई थियो । यस अघि समितिले असार १० गते सार्वजनिक सूचना प्रकाशित गरी ३५ दिनभित्र उजुरी आब्हान गरेको थियो । पछिल्लो समय संस्थाको छवि र निष्ठामा नकारात्मक प्रभाव परेको महसुस गरेर रेडक्रसको पछिल्लो तर्दथ समितिले त्यसको निराकरणका लागि छानबिन प्रक्रिया अघि बढाएको थियो ।
प्राप्त उजुरी तथा गुनासोको अध्ययन गर्न बनेको समितिमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा भ्रष्टाचारविरुद्ध अध्ययन अनुसन्धान विज्ञ डा. घिमिरेको नेतृत्वमा अधिवक्ता यशस्वी थापा र चार्टर्ड एकाउन्टेन्ट सतिश सुवेदी सदस्य रहेका छन् । समितिले तथ्य र प्रमाणसहित कार्यालयको आधिकारिक इमेल र अन्य ठेगानामा अनियमितता, भ्रष्टाचार तथा बेथिति सम्बन्धमा उजुरी पठाउन आह्वान गरेको छ ।
संयोजक घिमिरेले उजुरी गर्ने व्यक्तिले आफ्नो पहिचान गोप्य राख्न चाहेमा संस्थाले गोपनीयताको संरक्षण गर्ने प्रस्ट पार्दै इमेल, हुलाकमार्फत नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय पोस्ट बक्स नं. २१७ मा पठाएर पनि उजुरी गुनासो पठाउँन सकिने बताए । त्यसैगरी, काठमाडौँ कालिमाटीस्थित केन्द्रीय कार्यालयमै गएर प्रत्यक्ष दर्ता गरेर, निःशुल्क हटलाइन नं. ११३० तथा ह्वाट्सएप नं. ९७४१६९५०९७ मा समेत उजुरी गर्न सकिने व्यवस्था गरिएको घिमिरेको भनाई छ ।
प्राप्त हुने सबै सूचना तथा उजुरीलाई निष्पक्ष, स्वतन्त्र तथा गोपनीय ढङ्गले व्यवस्थापन गरिने समितिले जनाएको छ । समितिमा हालसम्म रेडक्रसका सवारी साधन दुरुपयोग भएका, रेडक्रसद्धारा सञ्चालित दुई वटा आँखा अस्पतालमा अनियमितता भएका लागायतका उजुरी प्राप्त भइरहेको बताइएको छ । रेडक्रसमा यसअघि भ्रष्टाचार र अनियमितता भएको भन्दै गठित छानविन समितिले बुझाएका १७ वटा प्रतिवेदन त्यतिकै थन्किएका छन् ।



