कञ्चनपुर । नदीजन्य विपद्बाट स्थानीय बासिन्दालाई जोगाउनका लागि यहाँ जैविक तटबन्ध निर्माणको कार्यलाई पूर्णता दिइएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाअन्तर्गत स्थानीय तहसँगको साझेदारीमा जैविक तटबन्ध निर्माणको कार्य गरेको हो ।
पाँच स्थानीय तहमा तीन हजार ४०० मिटर बाँसको जैविक तटबन्ध निर्माण गरिएको परियोजनाका अधिकृत महेश घिमिरेले बताए ।
उनका अनुसार लालझाडी गाउँपालिकाको दोदा नदीमा एक हजार ८००, कृष्णपुर नगरपालिकाका दोदा र वनहरा नदीमा ५५०, शुक्लाफाँटा नगरपालिकाको स्याली नदीमा ३००, पुनर्वास नगरपालिकाको दोदा नदीमा ६०० र बेलौरी नगरपालिकामा १५० मिटर जैविक तटबन्ध निर्माण गरिएको छ ।
जैविक तटबन्ध निर्माणका लागि रु ५८ लाख ८९ हजार १३० रकम लगानी गरिएको छ ।
त्यसमध्ये परियोजनाका तर्फबाट रु २३ लाख ७९ हजार ६१३ र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रु पाँच लाख ४१ हजार ५३१ रकम लगानी गरिएको छ ।
यसैगरी स्थानीय तहका तर्फबाट रु २६ लाख ४३ हजार ५५ र समुदायका तर्फबाट रु ३२ लाख २५ हजार ४७५ रकम लगानी गरिएको छ ।
जैविक तटबन्ध निर्माण कार्यबाट दुई हजार छ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । जैविक तटबन्ध निर्माणले गत वर्ष भूक्षय हुँदै आएको २५ बिघा जग्गा संरक्षण भएको छ ।



