images
images

भारत–पाकिस्तान द्वन्द्व अन्त्य गरेको दाबी गर्दै ट्रम्प, ‘सात युद्ध रोकिदिँदा नोबेल पुरस्कारको हकदार’


  • 344
    SHARES
  • २०८२ आश्विन ५ गते आइतबार

    भारत–पाकिस्तान द्वन्द्व अन्त्य गरेको दाबी गर्दै ट्रम्प, ‘सात युद्ध रोकिदिँदा नोबेल पुरस्कारको हकदार’

    वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको सुरुमा भारत–पाकिस्तानबीच व्यापारमार्फत शान्ति कायम गरेको दाबी दोहोर्‍याउँदै आफूले ‘सात युद्ध अन्त्य’ गराएको र त्यसका लागि नोबेल पुरस्कार पाउनुपर्ने बताएका छन् ।

    “हामीले शान्ति सम्झौता गरिरहेका छौँ, युद्धहरू रोकिरहेका छौँ । भारत र पाकिस्तान, थाइल्यान्ड र कम्बोडियाबीचका युद्धहरू पनि रोकेका छौँ”, शनिबार अमेरिकन कर्नरस्टोन इन्स्टिच्युटको संस्थापकहरूको रात्रिभोजमा बोल्दै ट्रम्पले भने, “भारत र पाकिस्तानलाई व्यापारमार्फत रोकेँ । उनीहरू व्यापार गर्न चाहन्थे । दुवै नेतालाई म सम्मान गर्छु । तर हामीले रोकिएका युद्धहरूको सूची हेर्नुस् ।”

    ट्रम्पले आर्मेनिया–अजरबैजान, कोसोभो–सर्बिया, इजरायल–इरान, इजिप्ट–इथियोपिया, रुवान्डा–कङ्गोबीचका द्वन्द्व पनि आफूले रोकाएको दाबी गरे । उनले भने, “यी सबै युद्ध, ६० प्रतिशत व्यापारकै कारण रोकिएका हुन् ।”

    भारतबारे उनले भने, “मैले भनेँ, ‘यदि तपाईं आणविक हतियारसहित युद्ध गर्न चाहनुहुन्छ भने, कुनै व्यापार हुँदैन ।’ उनीहरू रोकिए ।”

    रुस–युक्रेन युद्धबारे पनि उनले आफूलाई नोबेल पुरस्कार दिलाउने दाबी गरे । “मैले सात युद्ध रोकेको छु । अब बाँकी एक ठूलो युद्ध छ । यदि मैले यो पनि रोकेँ भने नोबेल पाउनैपर्छ”, उनले भने ।

    ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको व्यक्तिगत सम्बन्धका कारण रुस–युक्रेन द्वन्द्व समाधान सजिलो हुने सोचे पनि अपेक्षा विपरीत भएको बताए । उनले भने, “पुटिनसँग मेरो राम्रो सम्बन्ध छ । सुरुमा सजिलो लाग्यो तर निराश भएँ । तर हामी कुनै न कुनै तरिकाले यसलाई पूरा गर्छौं ।”

    ऊर्जा नीतिलाई युद्धसँग जोड्दै उनले भने, “तेल उत्खननले मूल्य घटाउँछ र यसले युद्ध रोक्छ । म पुटिनबाट निकै निराश छु । हरेक हप्ता पाँच हजारदेखि सात हजार मानिस मर्दैछन् ।”

    बेलायत भ्रमणका क्रममा पत्रकार सम्मेलनमा पनि उनले पुटिनप्रति असन्तुष्टि दोहोर्‍याए । “पुटिनले धेरै मानिस मारिरहनुभएको छ । रुसी सैनिकहरू युक्रेनीभन्दा बढी सङ्ख्यामा मारिएका छन्”, उनले भने।

    रूस–युक्रेन युद्ध समाधान गर्न ‘सबैभन्दा सजिलो’ हुने ठाने पनि त्यो गलत साबित भएको उनले स्वीकार गरे ।  तर उनले जोड दिरे, “यदि म राष्ट्रपति भएको भए यो युद्ध सुरु नै हुने थिएन । मेरो चार वर्षमा यो कहिल्यै भएन ।”

    ट्रम्पले अलास्कामा भएको शिखर सम्मेलनमा पुटिनलाई युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग वार्ता गर्न आग्रह गरेको स्मरण गरे । तर शान्ति सम्झौता सफल हुन सकेन ।

    रूसले सन् २०२२ फेब्रुअरीमा युक्रेनलाई ‘असैन्यीकरण र विमुद्रीकरण’ गर्ने भन्दै ठूलो आक्रमण थालेपछि द्वन्द्व अझ चर्किएको हो । सन् २०१४ मा क्रिमियाको विलयपछि सुरु भएको यो युद्ध अहिले पनि डोनेट्स्क, लुहान्स्क र कुर्स्क क्षेत्रमा लडाइँसहित जारी छ ।

     


    images
    images

    Logo