काठमाडौं । बागमती प्रदेशको गौरव आयोजना मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसै शैक्षिक सत्रदेखि एमबीबीएस अध्ययन सुरु गर्ने भएको छ । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई ५० सिटको स्वीकृति दिएको छ, जससँगै हेटौंडामा प्रदेशकै स्वास्थ्य शिक्षा केन्द्रको नयाँ अध्याय खुल्ने भएको छ।
यसअघि प्रतिष्ठानले बीएससी नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी (बीएमएलटी), पब्लिक हेल्थ (बीपीएच) र ब्याचलर अफ फार्मेसी जस्ता स्नातक तहका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष बीएससी नर्सिङको क्षमता २० बाट ३० सिटमा बढाइएको छ भने अन्य कार्यक्रमको सिट संख्या यथावत् राखिएको छ ।
यो वर्षदेखि सात विषयमा एमडी पनि सुरु हुँदैछ, जसका लागि ८ सिट स्वीकृत भएका छन्। स्त्री तथा प्रसूति (२ सिट), फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजीमा एक–एक सिट रहनेछ ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सिट संख्या वृद्धि र नयाँ कार्यक्रम थपिनुले प्रतिष्ठानलाई स्वास्थ्य शिक्षा र अनुसन्धानको मुख्य गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार, प्रतिष्ठान विशेषज्ञ चिकित्सक उत्पादनसँगै गुणस्तरीय उपचार सेवा र आधुनिक अनुसन्धानमा अग्रसर हुँदै आएको छ ।
उपकुलपति डा. प्रदीप ज्ञवालीका अनुसार, हेटौंडा अस्पतालमार्फत हाल दैनिक १,५०० भन्दा बढी बिरामी उपचार लिइरहेका छन् । छिमेकी प्रदेशका बिरामी पनि यहाँ उपचारका लागि आउने गरेका छन् ।
२०७६ सालमा बागमती प्रदेशसभाबाट ऐन पारित भएपछि २०७७ साउन १५ मा उपकुलपति र भदौ १५ मा पदाधिकारी नियुक्त गर्दै प्रतिष्ठानको औपचारिक काम सुरु भएको हो ।



