काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले चितवनका केही क्षेत्रमा भोलि (साउन ११ गते)देखि दैनिक ६ घण्टा लोडसेडिङ हुने जानकारी गराएको छ । अत्यधिक गर्मी, सिँचाइका कारण विद्युत् माग अत्याधिक बढ्नु र आकाशे पानी नपर्नुले लोड व्यवस्थापनमा समस्या आएपछि यस्तो निर्णय गरिएको हो ।
प्राधिकरणका अनुसार भरतपुर १३२/३३ के.भी. सबस्टेशनबाट आउने ३३ के.भी. डग कन्डक्टर तारको क्षमता ३०० एम्पिएर भए पनि हाल ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुन थालेपछि त्यसले लोड धान्न नसकेको हो ।
यसको दीर्घकालीन समाधानस्वरूप अघिल्लो आर्थिक वर्षदेखि बसेनी सबस्टेशनबाट विद्युत् आपूर्ति गर्ने उद्देश्यले अर्को ३३ के.भी. प्रसारण लाइन निर्माणको काम भइरहेको प्राधिकरणले जनाएको छ। तर हालको माग व्यवस्थापनका लागि केही दिनका लागि लोडसेडिङ तालिका लागू गरिएको हो ।
लोडसेडिङ तालिका यसप्रकार छः
१. नारायणी–माडी फिडरहरू
बिहान ६:०० बजे देखि ९:०० बजे सम्म
दिउँसो ३:०० बजे देखि ६:०० बजे सम्म
२. मेघौली–विजयनगर–शुक्रनगर फिडरहरू
बिहान ९:०० बजे देखि १२:०० बजे सम्म
बेलुका ६:०० बजे देखि ९:०० बजे सम्म
३. जगतपुर–रामपुर फिडरहरू
दिउँसो १२:०० बजे देखि ३:०० बजे सम्म
राति ९:०० बजे देखि १२:०० बजे सम्म
लोड व्यवस्थापनका क्रममा लाइन अचानक सुचारु/बन्द हुन सक्ने भएकाले उपभोक्ताहरूलाई समयअगावै सतर्क रहन आग्रह गरिएको छ ।
वितरण केन्द्रले विद्युत् आपूर्तिमा अवरोधका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना पनि गरेको छ ।




