काठमाडौं । डेंगु संक्रमण देशभर फैलिँदै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ७३ जिल्लामा डेंगुका केसहरू देखिएका छन् ।
सन् २०२५ को सुरुवातदेखि जुलाई २४ सम्म कुल २ हजार २४९ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो सात दिनमा मात्र १३२ जना नयाँ संक्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा ६ जनामा संक्रमण देखिएको छ ।
प्रदेशहरू मध्ये गण्डकी सबैभन्दा बढी प्रभावित बनेको छ, जहाँ हालसम्म ६२९ जनामा संक्रमण देखिएको छ । पछिल्लो सात दिनमा मात्रै गण्डकीमा ४८ जना नयाँ बिरामी थपिएका छन् । त्यसपछि बागमतीमा ४८९ र लुम्बिनीमा ३७४ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ ।



