गण्डकी । गत आइतबार सम्ममा गण्डकी प्रदेशमा ७१.०३ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार ६६ हजार नौ सय हेक्टरमा रोपाइँ भइसकेको छ । सबैभन्दा बढी लमजुङमा ८६ दसमलब २२ प्रतिशत, कास्कीमा ७७.०७ प्रतिशत, नवलपुरमा ७५.३९ प्रतिशत, तनहुँमा ७४.५९ प्रतिशत, बागलुङमा ६७.०२ प्रतिशत, म्याग्दीमा ६५.६९ प्रतिशत, स्याङ्जामा ६२ प्रतिशत, गोरखामा ६१.२४ र पर्वतमा ६० प्रतिशत रोपाइँ भएको हो ।
यही असार १५ सम्ममा प्रदेशमा जम्मा २८ प्रतिशत रोपाइँ भएकामा त्यसयता नियमित वर्षा भएपछि दुई सातामै ७१ प्रतिशत पुगेको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले बताए । साउन पहिलो हप्तासम्ममा अधिकांश क्षेत्रको रोपाइँ सकिने उनको भनाइ छ । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ ।
यस वर्ष ९४ हजार एक सय ८२ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको निर्देशनालयले जनाएको छ । गत वर्ष ९६ हजार ५३ हेक्टर र आव २०७९/८० मा ९७ हजार सात सय ६९ हेक्टरमा धान खेती गरिएको थियो । यसले पछिल्लो समय धान खेतीको क्षेत्रफल घट्दै गएको देखाउँछ । घरघडेरीले धानको उब्जाउ क्षेत्र नासिनु, तीब्र सहरीकरणजस्ता कारणले धान खेतीको क्षेत्रफल खुम्चदैँ गएको हो ।
क्षेत्रफल घटेपनि सिँचाइ, खेती प्रणालीमा सुधार, रोककिरा नियन्त्रण, उन्नत बिउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुन सके धानको उत्पादकत्व बढ्ने कृषि अर्थ विज्ञ पौडेलले बताए । प्रदेशको कूल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धान खेती हुने गरेको छ ।
नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ । गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् ।
पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ । गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धान खेती गरिन्छ ।



