काठमाडौं । सुदूरपश्चिम प्रदेशमा अघिल्लो वर्ष घरजग्गाको मूल्यमा व्यापक उछाल आएको देखिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ मा सो प्रदेशमा भएको आर्थिक गतिविधिमा आधारित भएर तयार गरेको प्रतिवेदनले यस्तो मूल्य अघिल्लो वर्षको तुलनामा झन्डै डेढ गुणा पुगेको देखिएको हो ।
रिपोर्ट अनुसार आर्थिक वर्ष २०७६/७७ मा यो प्रदेशमा २० हजार ८ सय ५९ वटा घरजग्गा रजिष्ट्रेसन भएको थियो । यो संख्या आर्थिक वर्ष २०७७/७८ मा ११.७५ प्रतिशतले बढेर २३ हजार ३ सय १० पुगेको छ । उता घरजग्गाको रजिष्ट्रेसन बापतको शुल्क भने यो वर्ष १ सय ६१ प्रतिशतले वृद्धि भएको देखिएकोृ छ । आर्थिक वर्ष २०७६/७७ मा घरजग्गाको रजिष्ट्रेसन बापत ६ अर्ब ५९ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । यस्तो राजश्व आर्थिक वर्ष २०७७/७८ मा १७ अर्ब २३ करोड पुगेको देखिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले अघिल्लो वर्ष घरजग्गा रजिष्ट्रेसनबापतको शुल्कमा कुनै परिमार्जन गरेको थिएन । शुल्क परिमार्जनबिना रजिष्ट्रेसनको संख्या बढ्नुले यो अवधिमा घरजग्गाको मूल्य उच्च रुपमा बढेको देखिन्छ । अहिले मालपोत कार्यालयले घरजग्गाको खरिदबिक्री मूल्यका आधारमा रजिष्ट्रेसन शुल्क लिँदै आएको छ ।



