काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा ३० करोड २९ लाख रुपैयाँ बराबरका मोबाइल फोन चार्जर भित्रिएको छ । भन्सार विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्म ३९ लाख ४२ हजार ८ सय ६६ थान मोबाइल फोन चार्जर आयात भएको हो ।
भारत, चीन, अस्ट्रेलिया, क्यानडा, साइप्रस, फ्रान्स, जर्मनी, हङकङ, इजरायल, इटाली, जापान, कोरिया, पोल्यान्ड, पोर्चुगललगायतका देशबाट मोबाइल फोन चार्जर भित्रिएको हो । नेपालमा चीनबाट सबैभन्दा धेरै मोबाइल फोन चार्जर आउने गरेको छ । चीनबाट ११ महिनामा ३५ लाख ७० हजार थान चार्जर भित्रिएको छ । यस्तै यस अवधिमा भारतबाट ३ लाख ७२ हजार ६ सय ९२ थान मोबाइल फोन चार्जर भित्रिएको छ ।
११ महिनामा भित्रिएको मोबाइल फोन चार्जरबाट सरकारले ९४ करोड ३९ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सस्तो र व्यापक आपूर्ति भएका कारण यिनै दुई देशमाथि चार्जर आयातमा नेपालको निर्भरता उच्च देखिएको छ ।



