images
images

पेट्रोलियम पद्धार्थको आयात घट्यो, राजश्व भने बढोत्तरी


  • 310
    SHARES
  • २०८२ जेठ १९ गते सोमबार

    पेट्रोलियम पद्धार्थको आयात घट्यो, राजश्व भने बढोत्तरी
    वीरगञ्ज । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकाबाट एक खर्ब ५५ अर्ब ९४ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । 
     
    गत आवको सोही अवधिको तुलनामा चालु आवमा पाँचै थरिका पेट्रोलियम पदार्थको समग्र आयातमा एक अर्ब ३५ करोड रकम अर्थात ०.८६ प्रतिशतले गिरावट आएको हो । गत आवको सोहि अवधिको तुलनामा चालु आवको १० महिनामा पेट्रोलियम पदार्थको आयातमा गिरावट आएपछि समग्र पेट्रोलियम पदार्थबाट प्राप्त राजस्वमा भने वृद्धि भएको छ । 
     
    वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थको परिमाणको आधारमा आयात घटेपनि राजस्व सङ्कलनमा वृद्धि भएको बताए । उनका अनुसार, चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ  आयातबाट कार्यालयले ६४ अर्ब ५० करोड रुपैया राजस्व सङ्कलन गरेको छ ।
     
    गत आवको सोही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थ आयातबाट ५८ अर्ब ४८ करोड राजस्व सङ्कलन भएको थियो । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलियम पदार्थबाट सङ्कलन हुने राजस्व १०.३१ प्रतिशतले वृद्धि भएको हो ।
     
    वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको वैशाख मसान्तसम्म ७९ अर्ब ५२ करोड मूल्य पर्ने नौ लाख २९७ किलोलिटर डिजेल आयात भएको छ । गत आवको सोही अवधिमा ८३ अर्ब ४७ करोड मूल्यपर्ने आठ लाख १३ हजार ८४६ किलोलिटर डिजेल आयात भएको छ । 
     
    कार्यालयका अनुसार चालु आवमा डिजेल आयात वापत कार्यालयले ३५ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा डिजलबाट ३२ अर्ब ७२ करोड राजस्व सङ्कलन गरेको थियो । सो अवधिमा ३१ अर्ब ७१ करोड मूल्य पर्ने तीन लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको छ । 
     
    गत आवको १० महिनामा ३२ अर्ब ६० करोड मूल्य पर्ने तीन लाख २६ हजार ३८७ किलोलिटर पेट्रोलको आयात भएको थियो । चालु आवको १० महिनामा पेट्रोल आयातबाट कार्यालयले २० अर्ब ७१ करोड राजस्व सङ्कलन गरेको छभने गत आवको सोही अवधिमा १८ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको थियो ।
     
     यो नाका हुँदै चालु आवको १० महिनामा ३० अर्ब २८ करोड मूल्य पर्ने २६ करोड ४१ लाख सात हजार ५४८ किलोग्राम एलपीजी ग्याँस आयात भएको छ । गत आवको सोही अवधिमा २५ अर्ब १९ करोड मूल्य पर्र्ने २३ करोड ५५ लाख ४५ हजार ७४० किलोग्राम एलपीजी ग्याँस आयात भएको थियो । 
     
    कार्यालयले चालु आवको १० महिनामा एलपी ग्याँसबाट  पाँच अर्ब ६७ करोड राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा एलपीजी ग्याँस आयातबाट चार अर्ब ७० करोड राजस्व सङ्कलन गरेको थियो । वीरगञ्ज नाका हुँदै चालु आवको १० महिनामा १३ अर्ब ८८ करोड मूल्य पर्ने एक लाख ५३ हजार १९२ किलोलिटर एटिएफ आयात भएको छ । 
     
     गत आवको सोही अवधिमा १५ अर्ब ४७ करोड मूल्य पर्ने एक लाख ४५ हजार ३३६ किलोलिटर एटिएफ आयात भएको थियो । कार्यालयले चालु आवको १० महिनामा एटिएफ आयातबाट दुई अर्ब १७ करोड राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा दुई अर्ब २२ करोड राजस्व सङ्कलन गरेको थियो । 
     
    कार्यालयका अनुसार, यो नाका हुँदै  चालु आवको १० महिनामा ५५ करोड मूल्य बरावरको छ हजार १३० किलोलिटर मट्टितेल आयात भएको छ । गत आवको सोही अवधिमा ५६ करोड मूल्य पर्ने पाँच हजार ३६० किलोलिटर मट्टितेल आयात भएको थियो । कार्यालयले मट्टितेल आयातबाट १५ करोड राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा पनि १५ करोड नै राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।  


    images
    images

    Logo