भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कुनै पनि कार्यक्रम अध्ययन गर्न विद्यार्थीले प्रवेश परीक्षा (इन्ट्रान्स) दिन नपर्ने भएको छ । अबदेखि एसईई तथा एसएलसीमा प्राप्त गरेको नम्बरका आधारमा छनौट गरिने भएको छ ।
त्यसका लागि परिषद्ले ‘प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनौट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२’ जारी गरेको छ ।
निर्देशिका अनुसार एसईईमा लिएको नम्बरलाई जिपिए ४ अंक भार मानिएको छ । जसमा सामुदायिक विद्यालयमा अध्ययन गरेकालाई १ अंक र संस्थागत (निजी) विद्यालयमा अध्ययन गरेकालाई ०.८५ अंक गणना गरी योग्यता क्रम निर्धारण गरिनेछ ।
वैशाख २६ गते बसेको परिषद्को २०७ औँ बैठकले निर्णय गरेर परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएको थियो । सोही अनुसार कार्यालयले निर्देशिका जारी गरेको हो ।
विगतमा प्रवेश परीक्षा लिएर सोही प्रवेश परीक्षामा प्राप्त गरेको अंकका आधारमा विद्यार्थी भर्ना गरिँदै आएको थियो ।
यही शैक्षिक सत्रबाट जिपिएको आधारमा विद्यार्थी भर्ना गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । प्रवेश परीक्षा लिएर विभिन्न खालका नकारात्मक हल्ला फैलने गरेको भन्दै जिपिएलाई आधार मानेर विद्यार्थी भर्ना गरिने कार्यालयले जनाएको छ ।
विगतमा परिषद् अन्तर्गतका कोर्षहरूको प्रवेश परीक्षाका लागि पूर्व तयारी कक्षा (ब्रिज कोष) चलाउँदै आएका थिए । त्यस्ता कोर्षको नाममा विद्यार्थीहरुबाट मोटो रकम असुल्ने गरेको स्रोतको दाबी छ ।
यसबाट त्यस्तो अवस्थाको अन्त्य हुने सिटीइभिटीको बिश्वास छ ।
यसका लागि अबदेखि परिषद्ले अनलाइनमार्फत फारम भर्ने व्यवस्था गरेको छ । आङ्गिक र सम्बन्धन प्राप्त निजी क्याम्पसहरूले त्यस्ता विद्यार्थीको फारम भर्न सहजीकरण समेत गर्नेछन् ।
स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चका महासचिव निर्मला सापकोटाले उक्त निर्देशिका जारी भएसँगै विद्यार्थीलाई निकै सहज हुने बताइन् । अबदेखि प्राविधिक शिक्षामा अध्ययन गर्न चाहने विद्यार्थीले प्रवेश परीक्षाको फारम भर्ने, प्रवेश परीक्षा दिने, प्रवेश परीक्षाको नतिजा कुर्ने लगायतका झन्झटिला प्रक्रियाहरूमा अलमलिनु नपर्ने बताइन् ।
बिद्यार्थीहरूले अनलाइनबाट आफूले चाहेको विषय, चाहेको शिक्षालयमा र आफू योग्य रहने कोटामा परिषद्को वेबसाइटमार्फत फारम भर्न सक्नेछन् । हरेक वर्षको असारमहिनादेखि मङ्सिर महिनासम्म करिब ६ महिना सम्म कार्यालय प्रवेश परीक्षा सञ्चालन तथा व्यवस्थापनमा खट्नुपर्ने अवस्था रहँदै आएको थियो ।
अबदेखि उक्त जनशक्ति जनशक्ति शैक्षिक क्यालेन्डर अनुसारका अर्धवार्षिक एवं वार्षिक परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनमा केन्द्रित हुन पाउने उनको भनाइ छ । जसले गर्दा शैक्षिक क्यालेण्डर अक्षरशः कार्यान्वयनमा जाने अवस्था सुनिश्चित भएको छ ।
सीटीईभीटीका परीक्षा नियन्त्रक उमेश मिश्रले यही शैक्षिकसत्रबाट जीपीएका आधारमा विद्यार्थी भर्ना गरिने जानकारी दिए । उनले भने, ‘अब विद्यार्थीले सीटीईभीटी अन्तर्गतका जुनसुकै विषय पढ्न प्रवेश परीक्षा दिनु पर्दैन ।’
सीटीईभीटीले प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्नासम्बन्धी निर्देशिका २०८२ तयार गरी कार्यान्वयनमा ल्याएको हो ।
निजी कलेजहरूले यसअघि नै ग्रेडका आधारमा भर्ना गर्न माग गर्दै आएका थिए ।
देशभर ६३ आंगिक र प्रतिष्ठान एवं निजी गरी चार सयभन्दा बढी कलेज रहेका छन् । ती कलेजमा २५ हजारभन्दा बढी नयाँ विद्यार्थी हरेक वर्ष भर्ना हुने गरेको परीक्षा नियन्त्रक मिश्रले बताए ।
नेपाल सरकारले हालै पारित नीति तथा कार्यक्रमको बुँदा नं ६४ मा “विद्यालय शिक्षा पूरा गर्नासाथ विद्यार्थीहरूको ग्रेडिङको आधारमा प्राविधिक तथा व्यावसायिक शिक्षा वा विश्वविद्यालय शिक्षामा प्रवेश गराइनेछ” भन्ने उल्लेख गरिएको सीटीईभीटीका निर्देशक प्रमोदभक्त आचार्यले बताए । स्तरीकृत अंकलाई आधार मानी प्रशिक्षार्थी छनौट गर्दा भर्ना प्रकृया छिटोछरितो हुने, स्रोत साधनको बचत हुने, परीक्षा केन्द्रसम्म जान आउन लाग्ने विद्यार्थीको खर्च तथा समयको बचत हुने र कक्षा १० मा मिहिनेत गरेर अध्ययन गर्नु पर्छ भन्ने सन्देश जाने उनको भनाई छ ।
नयाँ व्यवस्था अनुसार सबै किसिमका कार्यक्रमहरूमा एकै पटक भर्ना सिफारिस गर्दा सम्बन्धित कोटामा प्रशिक्षार्थीहरू छनोट हुने, प्रशिक्षार्थीलाई कार्यक्रम स्थानान्तरणको झन्झट नहुने र सम्बन्धित कोटाहरू समयमै पूरा हुने देखिएको निर्देशक आचार्यले बताए ।
शिक्षा मन्त्रालय लगायत सम्बन्धित सरोकारवालासँग राय लिएर यो ब्यबस्था गरिएको सीटीईभीटीले जनाएको छ भने यसबाट भर्ना प्रकृयामा देखिएको बिकृति अन्त्य हुने आम अपेक्षा गएिको छ ।



