काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहिवार अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेकी छिन् । भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा दर्शन तथा पूजापछि देउवा नयाँ दिल्ली पुगेकी हुुन् ।
मन्त्री डा राणालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले स्वागत गरेका थिए । मन्त्री डा राणा भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) द्वारा यही मार्च १७ देखि १९ सम्म नयाँ दिल्लीमा आयोजना हुुने राइसिना डायलग कार्यक्रममा सहभागी हुने बताइएको छ ।
मन्त्री डा राणाले कार्यक्रमका क्रममा जलवायु परिवर्तनको अवस्था र समस्या तथा दक्षिण के चाहन्छ ? नामक फरक–फरक सत्रमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । साथै राणाले यसैअन्तर्गत ‘डिजिटल पब्लिक इन्फ्रास्टक्चर कन्क्लेभ’लाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट मन्त्रालयले जनाएको छ ।
कार्यक्रमका दौरानमा मन्त्री डा राणाले भारतका विदेशमन्त्री डा एस जयशङ्कर तथा अन्य मित्रराष्ट्रका समकक्षीहरुसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । सो राइसिना डायलगमा विश्वका विभिन्न देशका प्रधानमन्त्री, विदेशमन्त्री, नेता तथा नीति निर्माताहरुको सहभागिता रहने आयोजक संस्था ओरआएफले जनाएको छ ।



