दार्चुला । महाकाली नदीलाई पवित्र गङ्गा मानिन्छ । यो नदी धार्मिकरूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै दूषित बन्दै गएको छ ।
धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको महाकाली नदी दिन प्रतिदिन सोझै ढल र फोहर फालिएपछि फोहरले नदी दुर्गन्धित बन्दै गएको छ ।
अहिले प्रदूषणकै कारण नदीको पानी पिउन र स्नान गर्न नसकिने अवस्था रहेको स्थानीयवासीले बताए।
स्थानीयवासी वीरसिंह धामीका अनुसार सदरमुकाम खलङ्गाको किनारका बस्तीका सबै फोहर नदीमै जान्छ र खलङ्गाको बङ्गाबगडबाट किम्तडी नजिकसम्म हे¥यो भने फोहर जताततै भरिएको छ ।
किनारका बस्तीको ढल निकास पनि नदीमै छाडिएको छ । अझ कतिपय ठाउँमा मलमूत्रसमेत नदीमै मिसाइएको सहजै देखिन्छ ।
कुहिने नकुहिने सबै प्रकारका फोहर महाकालीमा मिसाउँदा पानी दूषित बन्दै गएको हो ।
बढदो शहरीकरण र बस्ती विकासका कारण भारततर्फ पनि महाकालीमा प्रदूषण निकै बढेको स्थानीयवासी बताउँछन् ।
पटक–पटक गरिएको नदीको स्वच्छता परीक्षणका क्रममा महाकालीको पानीमा कोलिफार्म बढ्दै गएको छ । यसबाहेक क्षारीयपन, एमोनियम र नाइट्रेडको मात्रा पनि बढ्दो छ ।
नदी किनारका बासिन्दाले शौचालयको पाइप सोझै नदीमा मिसाउँदा प्रदूषण बढेको महाकाली नदी नियन्त्रण आयोजनाका कर्मचारी करनसिंह धामीले बताए ।
तटबन्धको काम भइरहेका बेला स्थानीयवासीको घरको दिसा मिसाइएको, ढलदेखि मदिराका बोतल प्लाष्टिकजन्य वस्तु सिधै नदीमा मिसाइएको देखिन्छ ।
वातावरणविज्ञ कृष्णदेव जोशी महाकाली नदीमा फोहरको मात्रा बढ्दै जाँदा भविष्यमा विकराल समस्या आउने सुनाउदैं यसको असर जलचर तथा मानव स्वास्थ्यमै पर्छ । यसतर्फ सबैले समयमै सोच्नुपर्छ ।



