images
images

पर्यटनको सम्भावना बोक्दै ‘टापुधाम’ 


  • 299
    SHARES
  • २०७८ कार्तिक २२ गते सोमबार

    पर्यटनको सम्भावना बोक्दै ‘टापुधाम’ 
    फाइल तस्बिर

    रामपुर । रामपुर उपत्यका भित्रिने पूर्वी नाकामा अवस्थित टापुधामले पर्यटनको सम्भावना बोकेको छ । कालीगण्डकीको आडैमा रहेको सो धाम प्राकृतिक रुपमा अत्यन्तै सुन्दर र मनमोहक छ तर पर्यटन विस्तारका कामले फड्को मार्न भने सकेको छैन । 

    कालीगण्डकीको तट रामपुर नगरपालिका–१ स्थित खटाङमा रहेको यो क्षेत्र प्रकृतिको अपार सुन्दरताले भरिपूर्ण छ । यहाँ पुग्ने जो कोही पनि सुन्दर प्राकृतिक छटासँग रोमलिन पुग्छन् । टापुधामलाई बग्दै गरेको नदीले दाहिने दिशा पारेर घेरेको छ । वर्षायामका बेला नदीको पानीले टापुलाई घेरेर बहन्छ । यो दृश्यले सबैको मनलाई टापुधामतिर तानिरहेको हुन्छ । पर्यटन विकासका काममा सम्बन्धित निकायले चासो नदिनु र प्रचार प्रसारको अभावमा भने पछाडि परिरहेको छ । 

    हेर्दा अत्यन्तै रमणीय पवित्र कालीगण्डकीको किनारमा रहेको यो क्षेत्र आन्तरिक मात्र नभई बाह्य पर्यटकको लागि घुमफिर गर्ने उपयुक्त थलो रहेको बताउनुहुन्छ, रामपुर उपत्यका पर्यटन विकास समितिका अध्यक्ष श्यामकान्त खनाल । उहाँ भन्नुहुन्छ, “रामपुर भित्रिने पूर्वी नाकामा रहेको छ, पोखरासँग नजिक पर्ने हुदा लुम्बिनी प्रदेशको पूर्वीद्वारको रुपमा नेपालकै नमूना पर्यटकीयस्थल बन्न सक्ने भौगोलिक भूबनोट छ, प्रकृतिले दिएका यस्ता मूल्यवान क्षेत्रको समयमा नै विकास नहुँदा बत्तिमुनिको अध्याँरोजस्तै बनिरहेका छन् ।”

    रामपुरको पर्यटन प्रवद्र्धन र विस्तारको निम्ति पर्यटन विकास समितिले अब पूर्वी रामपुरको प्रवेशद्वारबाट प्रचारप्रसारको काम थालनी गर्ने अध्यक्ष खनाल बताउछन् । अहिले यहाँ शिवपञ्चायनको मन्दिर, आश्रमस्थल, चौतारी, भजनकीर्तन मण्डली पौवा, शालिग्राम सङ्ग्रहालय निर्माण गरिएको टापुधाम क्षेत्र विकास समितिका अध्यक्ष रत्ना थापाले जानकारी दिए । 

    “ठूलो वजेट प्राप्त नहुनु, साना–साना बजेटले ठूला काम गर्न कठिनाइ भएको छ, क्रमिकरुपमा त काम नभएका होइनन्, तर झट्ट हेर्दा ठूलै काम गरेर देखाउन सकिएको छैन, काम गर्न आर्थिककै सङ्कट परेको छ”, उनले भने। कालीगण्डी करिडोरदेखि करिब ४०० मिटर तल कालीनदीको किनारमा अवस्थित यो क्षेत्रमा प्राकृतिक दृश्यसँग रमाउन पुग्ने विस्तारै बढ्दैछन् । विशेष गरी यहाँ शालिग्राम सङ्ग्रहालय निर्माण गरिएपछि भने आउने जानेको चहलपहल बाक्लिदैछ ।

    यहाँ पर्यटन बोर्डबाट रु पाँच लाख र रामपुर नगरपालिकाबाट रु पाँच लाख सहयोगमा शालिग्राम सङ्ग्रहालय निर्माण गरी प्रयोगमा ल्याइएको रामपुर नगरपालिका–१ का अध्यक्ष मित्रलाल कँडेलले बताए । “पर्यटन प्रवद्र्धनमा वडाले यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ, यो क्षेत्र कालीगण्डकीको किनारमा रहेकाले पनि धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना छ, विकासको काममा वडाले विशेष ध्यान दिएर दिनेछ”, उनले भने।
           
    करिब दश रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ विभिन्न संरचना निर्माणका लागि जग्गा प्रशस्त छ । लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बृद्धिप्रकाश रेग्मी सडक स्तरोन्नति, यहाँको भौतिक पूर्वाधार विकास, पर्यटकीय संरचना निर्माण गर्नुपर्ने आवश्यकता छ भन्छन् । प्रकृतिले नै दिएको सुन्दर उपहार यस टापुधामको विकासमा सम्बन्धित निकायले बेलैमा ध्यान दिएर विकासका काम अगाडि बढाउन सके साच्चिकै यो क्षेत्र एक उत्कृष्ट पर्यटकीय क्षेत्रको रुपमा विकास हुनेछ ।

    कालीगण्डकी करिडोरको आडैमा अवस्थित रहेकाले पनि यसको पर्यटकीय विकास भएको खण्डमा यहाँ दिनहुँ सयौँको सङ्ख्यामा पर्यटकको आवागमन हुनेछ । स्थानीय निकाय विभिन्न सङ्घ संस्था, व्यक्तिसँग रकम जुटाएर यसको भौतिक पूर्वाधार निर्माण गरी यसलाई छिट्टै नै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै जान सकेको खण्डमा यो क्षेत्र उत्कष्ट पर्यटकीय गन्तव्यस्थल बन्नेछ । 

    पछिल्लो समय स्थानीयस्तरमा यसको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न कालीगण्डकी वारि र पारिका स्थानीयवासीले माग गरिरहेका छन् । यही टापुधामबाट कालीगण्डकी पारी रहेको तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–१ को रमणीय भण्टार क्षेत्रलाई नियाल्दै प्रकृतिको अनुपम सुन्दरतासँग हराएको पत्तो हुँदैन । नगरपालिकाले यसलाई नगरका उत्कृष्ट पर्यटकीय क्षेत्रअन्तर्गत सूचीकृत गरेको छ । 

    यहाँका स्थानीयवासी पदमबहादुर सिंले पुत्र प्राप्तिका लागि एक महिनासम्म टापुधाममा ध्यान गरेर बसेको र ध्यान पश्चात् पुत्र प्राप्त भएकाले २०५६ मा उहाँकै सक्रियतामा स्थानीयवासीको सहयोगमा यहाँ यज्ञ लगाइएको थियो । मनोकामना पूरा भएपछि पञ्चायन देवताको मन्दिर निर्माण गरिएको हो । यहाँका स्थानीयवासीले मागेको कुरा प्राप्त हुने भएपछि त्यस समयदेखि धार्मिक आस्था पनि बढ्दै गएको टापुधाम क्षेत्र विकास निर्माण समितिका सदस्य ऋषिराम तिवारी बताउछन् ।


    images
    images

    Logo