images
images

चाडवाडका लागि भित्रियो ३२ करोडको नरिवल, अरु मसला कति भित्रिए ?


  • 403
    SHARES
  • २०८१ कार्तिक १४ गते बुधबार

    चाडवाडका लागि भित्रियो ३२ करोडको नरिवल, अरु मसला कति भित्रिए ?

    काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा चाडवाड लक्षित गरी ३२ करोड नौ लाख रुपैयाँ बराबरको नरिवल भित्रिएको छ । आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असोजसम्म दसैँतिहार र छठ लक्षित गरी ६० लाख ६३ हजार ५९५ केजी नरिवल आयात भएको हो ।

    भन्सार विभागका निर्देशक एवम्‌ सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले पछिल्लो तीन महिनामा करिब एक अर्ब बढीको ‘ड्राई फ्रुटस्’ भित्रिएको जानकारी दिए । भारत र चीनलगायत देशबाट नरिवलसँगै, काजु, बदाम, अलमण्ड, पिस्ता, सुपारी, खजुर, छोकडा, अन्जिर र किसमिस पनि भित्रिएको उनले बताए ।

    विभागले सङ्कलन गरेको तथ्याङ्कअनुसार २६ करोड दुई लाख रुपैयाँको दुई लाख ९८ हजार ९४६ केजी काजु, १८ करोड ६० लाख रुपैयाँको दुई लाख ३२ हजार ६९३ केजी बदाम र अलमण्ड आयात भएको छ । २० करोड ९८ लाख रुपैयाँको छ लाख सात हजार २२५ केजी ओखर आयात भएको छ ।

    यस्तै, एक करोड ४५ लाख रुपैयाँ बराबरको पिस्ता १२ हजार ७७७ केजी, २१ करोड ६२ लाख रुपैयाँमा १७ लाख १४ हजार ४१९ केजी सुपारी, एक करोड ३० लाख रुपैयाँको एक लाख २४ हजार १७७ केजी खजुर र छोकडा आयात भएको छ ।

    ४१ हजार ५५० केजी अंजिर दुई करोड ६५ लाख रुपैयाँमा, तीन लाख २४ हजार छ६७५ केजी किसमिस १० करोड ६२ लाख रुपैयाँमा आयात गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस्तै, दिपावलीमा प्रयोग गरिने विभिन्न किसिमका बत्ती चार करोड ७४ लाख मूल्य बराबरको  आयात गरिएको छ ।

    विभागका अनुसार यस वर्ष अघिल्लो वर्षको तुलनामा बदाम, अलमण्ड र ओखरको आयात कम भएको छ । तुलनात्मक रुपमा बदाम र अलमण्डको आयात सात प्रतिशतले कम छ । यस्तै; ओखर ४४ दशमलव ६ प्रतिशतले कम आयात भएको छ ।

    अघिल्लो वर्षको तुलनामा यस वर्ष बत्तीको आयात ५८ प्रतिशतले कम भएको तथ्याङ्कले देखाउँछ । अघिल्लो वर्ष तीन महिनामा नौ करोड ८४ लाख रुपैयाँ बराबरको सात लाख ७८ हजार ५८२ थान बत्ती आयात भएको थियो ।


    images
    images

    Logo