images
images

मौसम अनुकूल भएपछि एकैदिन लुक्ला पुगे ६९० पर्यटक


  • 409
    SHARES
  • २०८१ कार्तिक १ गते बिहीबार

    मौसम अनुकूल भएपछि एकैदिन लुक्ला पुगे ६९० पर्यटक

    काठमाडौं । मौसम अनुकूल भएसँगै काठमाडौँ र रामेछापको मन्थली विमानस्थलमा रोकिएका छ सय ९० पर्यटक लुक्ला पुगेका छन्। मौसम प्रतिकूलताका कारण दुई दिनदेखि पर्यटक मन्थली र काठमाडौँमा रोकिएका थिए। 

    नेपाल नागरिक उड्डययन प्राधिकरण लुक्लाका ‘एटिसी अफिसर’ विवश दाहालका अनुसार बुधबार मन्थलीमा रोकिएका छ सय र काठमाडौँमा रोकिएका ९० पर्यटक लुक्ला पुगेका हुन्। हेलिकप्टरमार्फत ७० उडान गर्दा तीन सय ५० र २२ उडान जहाजमार्फत तीन सय ४० पर्यटक लुक्ला ओर्लिएका उनले बताए। 

    नेपाल नागरिक उड्डययन प्राधिकरणले खुम्बु क्षेत्र आएका विदेशी पर्यटकलाई रामेछापको मन्थली विमानस्थलबाट जहाजमार्फत लुक्ला उडानको व्यवस्था गरेको छ। 

    गत आइतबार ९० उडानमार्फत आठ सय पर्यटक लुक्ला आएको प्राधिकरणको तथ्याङ्क छ। खुम्बुक्षेत्र भ्रमणमा आउने पर्यटकले लुक्लाबाटै पदयात्रा सुरु गर्छन्। लुक्लासम्म सडक नपुगेकाले सर्वसाधारण र पर्यटकका लागि हवाइसेवा प्रमुख माध्यम हो। 

    लुक्ला विमानस्थल सन् १९७१ देखि सञ्चालनमा आएको हो। यो विमानस्थल समुन्द्र सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा छ। 

    नागरिक उड्डयन प्राधिकरणका अनुसार यसको लम्बाइ पाँच सय २७ मिटर र चौडाइ २० मिटर छ, जुन अन्य विमानस्थलभन्दा छोटो हो। छोटो धावनमार्ग भएकाले त्यहाँ ‘ओभरसुट’ सम्भव हुँदैन।


    images
    images

    Logo