काठमाडौं । नेपाली बजारमा आयात हुने डिजेल एकै महिना ७ रुपैयाँ भन्दा धेरैले महँगिएको छ । भारतीय आयल कर्पोरेशनले शुक्रबार (अक्टोबर १ तारिख) नेपाल आयल निगमलाई पठाएको मूल्यसूची अनुसार प्रतिलिटर डिजेल एक महिनामा ७.१४ रुपैयाँले महँगिएर प्रतिलिटर ७१.१९ रुपैयाँ पुगेको हो । सेप्टेम्बर १ गते यस्तो मूल्य ६४.०५ रुपैयाँ थियो । यो ११.१४ प्रतिशत वृद्धि हो ।
डिजेल मात्रै नभएर पेट्रोल, हवाई इन्धन, मट्टितेल र एलपी ग्यासको मूल्य समेत यो अवधिमा बढेको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर ६.९७ रुपैयाँले बढेको छ । शुक्रबारको मूल्यसूची अनुसार यसको मूल्य ६६.१५ रुपैयाँ तोकिएको छ । अघिल्लो महिना यो ५९.१८ रुपैयाँ थियो । यो ११.७७ प्रतिशत हो ।
उता पेट्रोलको मूल्य भने प्रतिलिटर ६६.२१ रुपैयाँबाट बढेर ७०.३० रुपैयाँ पुगेको छ । यो प्रतिलिटर ४.०९ रुपैयाँ (६.१७ प्रतिशत) वृद्धि हो । यता खाना पकाउने एलपी ग्यास भने प्रति सिलिन्डर १३५९.३३ रुपैयाँबाट बढेर १३७५.०२ रुपैयाँ पुगेको छ । यो प्रति सिलिन्डर १५.६९ रुपैयाँ (१.१५ प्रतिशत) बराबरको वृद्धि हो ।
आईओसीले मूल्य बढेर पठाउँदा निगमको कुल लागत समेत सोही हाराहारीमा बढेको छ । निगमका अनुसार अहिले कर, ढुवानी भाडा र अन्य सम्पूर्ण लागत समेत गरी प्रतिलिटर पेट्रोलमा १ सय ३९ रुपैयाँ, डिजेलमा १ सय २० रुपैयाँ, कट्टितेलमा ९३ रुपैयाँ, आन्तरिक हवाई उडानमा ८४ रुपैयाँ, बाह्य हवाइ उडानमा ७६ रुपैयाँ र एलपी ग्यासमा १९६१ रुपैयाँ लागत पर्न आउँछ ।
एक महिना अघि प्रतिलिटर पेट्रोलको लागत १ सय ३५ रुपैयाँ, डिजेलमा १ सय १२ रुपैयाँ, मट्टितेलमा ९० रुपैयाँ, आन्तरिक हवाई उडानमा ७८ रुपैयाँ, बाह्य हवाइ उडानमा ७० रुपैयाँ र एलपी ग्यासमा १९४५ रुपैयाँ हाराहारीमा लागत थियो ।



