तनहुँ । घिरिङ गाउँपालिकाले लसुन र प्याज खेती गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ ।
कृषकलाई नगदे बालीतर्फ आकर्षित गराउँदै गाउँपालिकालाई लसुन र प्याजमा आत्मनिर्भर बनाउने उद्देश्य सहित गाउँपालिकाले कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो ।
चालु आर्थिक वर्षको गाउँसभाबाट पारित नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार कृषकलाई प्रति रोपनी रु पाँच हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार १८ कृषकलाई रु एक लाख ४२ हजार पाँच सय वितरण गरिएको छ ।
घिरिङ गाउँपालिका–१, २ र ३ का लसुन र प्याज उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम प्रदान गरिएको हो ।
घिरिङ गाउँपालिका–१ अत्रौलीका प्रेम थापाले आठ रोपनीमा लसुन र प्याज उत्पादन गरेबापत रु ४० हजार प्राप्त गर्नुभएको छ ।
त्यस्तै तीन जना कृषकलाई दुई रोपनी, एक जना कृषकलाई डेढ रोपनी र १३ जना कृषकलाई एक रोपनीका दरले सो सुविधा प्रदान गरिएको छ ।
गाउँपालिकाले एक जना कृषकलाई आठ रोपनीको रु ४० हजार, तीन जना कृषकलाई ६ रोपनीको रु ३० हजार, एक जना कृषकलाई डेढ रोपनीको रु सात हजार पाँच सय र १३ जना कृषकलाई रु ६५ हजारका दरले प्रोत्साहन रकम वितरण गरेको छ ।



