images
images

वर्षायाम लम्विँदा बजारमा सागको मूल्य छोइनसक्नु


  • 957
    SHARES
  • २०७८ आश्विन १५ गते शुक्रबार

    वर्षायाम लम्विँदा बजारमा सागको मूल्य छोइनसक्नु

    काठमाडौं । वर्षायाम लम्बिँदा बजारमा सागको मूल्य अत्यधिक महँगिएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार सागको मूल्य पोहोरको तुलनामा १० गुणासम्म पुगेको छ । 

    समितिको तथ्यांक अनुसार अघिल्लो वर्ष असोज १५ गते जिरीको साग प्रति केजी ८५ रुपैयाँ थियो । यो वर्षको सोही समयमा यसको मूल्य बढेर ८ सय ५० रुपैयाँ पुगेको छ । यो मात्रै होइन, बजारमा बिक्री हुने सवैजसो सागजन्य वस्तुको मूल्य यो वर्ष उच्च रुपमा बढेको छ । 

    त्यस्तै, पालुङको साग सोही समयमा ९५ रुपैयाँबाट बढेर २ सय ३५ रुपैयाँ पुगेको छ । यो करिव १ सय ४५ प्रतिशतकोे बृद्धि हो । चम्सुरको सागको अघिल्लो वर्ष प्रति केजी औसत मूल्य  ९५ रुपैयाँ थियो । हाल यसको मूल्य १ सय ९५ रुपैयाँले वढेर २ सय ९० पुगेको हो । यो करिव २ सय पाँच प्रतिशतको बृद्धि हो । 

    त्यसैगरी, रायोको सागको हकमा रु ९५ बाट करिव ६८ प्रतिशतले बृद्धि भइ प्रति किलो १ सय ६० रुपैयाँ औसत मूल्य कायम भएको छ । तोरीको सागमा भने प्रति केजी १० रुपैयाँ मात्र बृद्धि छ । हाल यो सागको औसत मूल्य ७५ रुपैयाँ प्रतिकिलो रहेको छ ।  

    समितिका प्रबक्ता विनय श्रेष्ठका अनुसार लगतारको वर्षाका कारण साग उत्पादनका लागि मौसम अनुकुल नहुँदा सागकोे मूल्य महँगिएको हो । नेपालमा जेठको पहिलो साता भित्रिएको  मनसुन मध्य असोजसम्म पनि नबाहिरिँदा सागको मूल्य छोइनसक्नु भएको हो । 

    “अघिल्ला वर्षका तुलनामा यसवर्ष भैरहेको अधिक वर्षाले गर्दा उम्रन लागेका तथा तयार हुन लागेका सागलाई समेत प्रतिकूल असर पारेको छ”, प्रवक्ता श्रेष्ठले भने “साग कमलो वस्तु भएकाले निरन्तर वर्षाले यसलाई मारिदेने हुँदा उत्पादन कम र माग बढी भई सागको मूल्य बढ्न गएको हो ।”

    अरु तरकारीको के छ अवस्था ?

    सागमा अत्याधिक मूल्य बृद्धि हुँदा सोही समयमा पुदिना बाहेक अरु तरकारीमा भने सामान्य घटबढ भएको छ । १ सय ४५ रुपैयाँ रहेको पुदिनाको मूल्य प्रति केजी ७ सय ५ ले बढेर ८ सय पचास पुगेको छ ।
    रातो र सेतो आलुको मूल्य प्रति केजी क्रमश ३७ र ३० रुपैयाले घटेको छ । स्थानीय काउली २५ रुपैयाँले घटेर प्रति केजी ९० रुपैयाँमा कारोवार भैरहेको छ । कन्य च्याउमा ६० रुपैैयाँले बृद्धि भइ प्रति केजी २ सय ३५ रुपैयाँ र डल्ले च्याउमा प्रति केजि ७० रुपैयाँले घटि ३ सय २५ औसत मूल्य कायम भएको छ । पोहोरको तुलनामा हरियो धनिया प्रति केजी १ सय ७०  रूपैयाँ घटि २ सय २५ मा कारोवार भैरहेको छ ।  


    सुजिता सापकोटा
    सापकोटा नेपालअर्थ डटकमकी संवाददाता हुन् ।


    images
    images

    Logo