काठमाडौं । गायक प्रेमध्वज प्रधानको ह्रदयघातका कारण मृत्यु भएको छ ।उनको ८३ वर्षको उमेरमा काठमाडौं न्यूरो अस्पतालमा निधन भएको छ ।
सिन्धुपाल्चोकको चौतारामा सन् १९३८ मा जन्मिएका प्रधानले १६ वर्षको उमेर रेडियो नेपालमा स्वर परीक्षा पास गरेका थिए ।
आमा प्राणदेवी प्रधान र गणेशलाल श्रेष्ठबाट संगीतको प्रारम्भिक शिक्षा लिएका प्रधानले ‘याद आइरहेछ कसैको यो अँधरी रातमा’ पहिलो रेकर्डेड गीत थियो ।
नेपाल भाषा, नेपाली र फिल्म संगीतमा उत्तिकै रुचाइएका प्रधान भारतीय गायिकासँग युगल गीत गाउने पहिलो गायकको रुपमा पनि लिपिवद्ध छन् ।
उनले सर्वप्रथम ‘माइतीघर’ फिल्मका लागि उषा मंगेशकरसँग युगल गीत गाएका थिए । त्यसैगरी उनले ‘मायालु’ फिल्मका लागि आशा भोस्लेसँग पनि युगल गायन गरेका थिए ।
‘गोरेटो त्यो गाउँको’ ‘घुम्तीमा नआऊ है’, ‘यो नेपाली शिर उचाली’ ,‘तारा मात्र हैन’ ‘राजमति’ आदि उनले गाएका सदाबहार गीत मानिन्छन् ।
उनले भजन, नेपाल भाषा नेपाली फिल्म र सुगम संगीत गरी ७ सयभन्दा बढी गीतमा आवाज दिएका छन् ।
प्रेमध्वज प्रधानका एक श्रीमति किरण प्रधान र प्रशन्न र कबीर नामका दुई छोरा छन् । दुवै अमेरिकामा रहेकाले उनीहरुको अनुपस्थितिविनै आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको मन्जुकुमार श्रेष्ठले जनाएका छन् ।



