काठमाडौँ । उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ ।
बुधबारसम्म बिहान बेलुकानै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो ।
खाद्य सामग्री, ग्रोसरी पसल, औषधि पसलजस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्यरूपमा पालना गर्नुपर्ने छ ।
कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेकाले काठमाडौँ उपत्यकामा थप कडाइ गर्दै आज बिहानैदेखि लागू हुने गरी आदेश जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
यसअघि वैशाख १६ देखि २२ गते बुधबार राति १२ बजे सम्मका लागि निषेधको आदेश जारी भएकामा यही २१ गते उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधको आदेश एक साता थप्ने निर्णय गरेको हो । आदेश २९ गते राति १२ बजेसम्म कायम रहने छ ।
सर्वसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन पाउने छैन ।
अत्यावश्यक काममा निस्किँदा पनि दुई व्यक्तिबीच कम्तिमा दुई मिटरको दूरी कायम गर्नुपर्ने छ । अनिवार्यरूपमा मास्कको प्रयोग गर्न, पटकपटक साबुन पानीले हात धुन र सेनिटाइजरको प्रयोग गर्न आदेशमा भनिएको छ ।
सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बढीमा दुई जना बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनबाहेकका अन्य सवारी साधन उपत्यका प्रवेशमा रोक लगाइएको छ ।
अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, बीमालगायतका कार्यालयले एक चौथाइ कर्मचारी उपस्थित हुने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
सरकारी कार्यालयको हकमा मन्त्रालयको सचिव वा विभागीय प्रमुखद्वारा जारी गरिएको पास र परिचयपत्रको आधारमा आवतजावत गर्न पाइने छ ।
सार्वजनिक संस्थाको हकमा सम्बन्धित प्रमुखले जारी गरेको पास र परिचयपत्र अनिवार्य हुनुपर्ने छ ।
बैंक तथा वित्तीय संस्थाको हकमा काठमाडौँ उपत्यकामा २५ प्रतिशत शाखा कार्यालय मात्र खुला गर्ने र केन्द्रीय कार्यालयले २० प्रतिशतमात्रै जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्नुपर्ने छ ।
बैंक तथा वित्तीय संस्थाका सवारी साधन सञ्चालको हकमा सीमित सवारी पास जारी गरी सोको विवरण नेपाल राष्ट्र बैंँक र जिल्ला प्रशासन कार्यालयलाई दिन भनिएको छ ।
निर्माण सामग्री ढुवानीमा राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्र आवतजावत गर्न पाइने छ ।
अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, पासपोर्ट, भिसा हुनेलाई सिधै विमानस्थल जाने सवारी साधनका हकमा सहजीकरण गरिने छ ।
औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धीका पसल जुनसुकै समयमा निर्वाधरूपमा सञ्चालन गर्न पाइने छ ।
विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्रै आवतजावत गर्न पाइने छ ।
त्यसका लागि ब्यानर राखेको दुई वटा गाडी प्रयोग गर्न सकिने छ । नित्य पूजाबाहेकका सबै धार्मिक, सांस्कृतिक, गतिविधि सञ्चालन गर्न पाइने छैन ।
पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासका आधारमा आवतजावतमा सहजीकरण गरिने जनाइएको छ ।
सूचना विभागको प्रेस पास नभएको अवस्थामा सञ्चार गृहले न्यूनतम कर्मचारी मात्र खटाउने र सोको विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन भनिएको छ ।
नीलो प्लेटका सवारी साधनका हकमा भने परिचयबाहेक पदाधिकारी र कर्मचारीलाई सवारी पास नपर्ने जनाइएको छ ।
प्रिन्टिङ प्रेसमा काम गर्ने, सुरक्षा सम्बद्ध कर्मचारी, तथा औषधि आपूर्ति गर्ने परिचयपत्र बाहक व्यक्तिको हकमा सम्बद्ध निकाय तथा आपूर्तिकर्ताको अनुमतिपत्र भए सवारी पास चाहिने छैन ।
मृत्यु संसकारका लागि जान आउन मृत्यु दर्ताको प्रमाणपत्र वा सम्वन्धित वडाको सिफारिस र परिचयपत्र खुल्ने कागजात पेश गरी पास लिनुपर्ने छ ।
बिरामी र कुरुवाका हकमा काठमाडौँ उपत्यकाभित्र भए भर्ना कार्ड वा रिपोर्ट कार्ड देखाएर जान सकिने तर काठमाडौँबाहिर जानुपर्ने भएमा ती कार्डसहित परिचयपत्र खुल्ने कागजातसहित निवेदन दिनुपर्ने छ । सुरक्षा गार्डका हकमा परिचयपत्रसहित पोशाक लगाएर कार्य क्षेत्रमा जान सकिने छ ।



