images
images

क्यानद्वारा सोलुखुम्बुको महाकुलुङमा प्याराग्लाइडिङको परीक्षणको अनुमति


  • 317
    SHARES
  • २०८१ बैशाख ११ गते मंगलबार

    क्यानद्वारा सोलुखुम्बुको महाकुलुङमा प्याराग्लाइडिङको परीक्षणको अनुमति

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले द बाबु एडभेञ्चर इन्टरनेशनल स्कुललाई सोलुखुम्बुको महाकुलुङमा प्याराग्लाइडिङको परीक्षण उडानका लागि अनुमति प्रदान गरेको छ । क्यानले सो कम्पनीलाई महाकुलुङ–५ मा यही वैशाख ११ गतेदेखि १५ गतेसम्म परीक्षण उडानका लागि अनुमति प्रदान गरेको जनाएको छ ।

    क्यानका अनुसार कम्पनीले सो क्षेत्रमा बिहान ८ बजेदेखि अपराह्न्न ४ बजेसम्म प्याराग्लाइडिङको परीक्षण उडान गर्न पाउनेछ । तर त्यसका लागि लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थल नागरिक उड्डयन कार्यालयको सम्पर्कमा रही उडान सञ्चालन गर्नुपर्नेछ । साथै हवाई उडान हुने समयमा भने परीक्षण गर्न पाइने छैन ।

    ‘स्थानीय प्रशासनको प्रत्यक्ष समन्वयमा रही सुरक्षाको पूर्ण प्रत्याभूति भएपश्चात मात्र सर्तको अधिनमा रही प्याराग्लाइडिङ प्ररीक्षण पटके उडान अनुमति प्रदान गरिएको छ’, क्यानले दिएको अनुमति पत्रमा भनिएको छ । महाकुलुङ गाउँपालिकाले आजै उक्त कम्पनीलाई आजदेखि सुरु याक तथा चौरी व्यवसायी संघ नेपालद्वारा आयोजित चौरी महोत्सवको अवसरमा प्याराग्लाइडिङको परीक्षण उडानका अनुमति दिएको छ ।

    कम्पनीका प्रबन्धक नविनबाबु गुरुङले पर्यटन प्रवर्द्धन र सम्भावनाको खोजी गर्ने क्रममा सोलुखुम्बुमा प्याराग्लाइडिङको परीक्षण उडान गर्न लागिएको हो । ‘क्यानबाट आज अनुमति प्राप्त भएको छ, अबको केही दिनमा सो क्षेत्र आसपासबाट ५र६ वटा जति परीक्षण उडान गरिनेछ’, उनले भने, ‘परीक्षण उडान सफल भयो भने व्यवसायिक उडानको तयारी गरिनेछ ।’

    उनले परीक्षण उडानमा त्यहाँको हावाको बहाव, मौसम अनुकुलताबारे जानकारी लिइने बताए। ‘परीक्षण उडान सफल भए स्थानीय तहसँगको सहकार्यमा व्यावसायिक उडानका लागि प्रयास गरिनेछ, मुख्य कुरा पर्यटकको आगमन त्यसका लागि यातायातको पहुँच कस्तो छ भन्नेमा पनि ध्यान दिइनेछ’, उनले भने ।

    उनका अनुसार हाल कम्पनीले पोखरा, काठमाडौंको चन्द्रागिरि, सुर्खेत र दाङमा व्यवसायिक प्याराग्लाइडिङ सञ्चालन गरिरहेको छ ।


    images
    images

    Logo