चितवन । कोरोना महामारीका कारण असर गरेका सौराहाका होटल व्यवसायीले पर्यटकहरुलाई छुटको लागि प्याकेज सार्वजनिक गर्न थालेका थालेका छन् । व्यवसायीहरुले नेपाली पर्यटक लक्षित प्याकेजमा ४० प्रतिशतसम्म छुट दिने भएका छन् ।
चैत्रयता कोभिड–१९ को कारण बन्द रहेका होटलहरुले ठूलो नोक्सानी व्यहोरिरहको होटल व्यवसायीहरुले बताए । व्यवसायलाई सक्रिय बनाउन आन्तरिक पर्यटकलाई लक्ष्य गरी सस्तो मूल्यमा प्याकेज सार्वजनिक गर्न थालिएको सौराहाका युवा व्यवसायी सुमन घिमिरेले बताए ।
व्यवसाय नचल्दासमेत कोठा सरसफाइ गरिरहनुपर्ने भएकाले खर्च निस्कने घिमिरेले बताए । उनका अनुसार कोभिडको समयमा ‘पे नाउ, गो लेटर’ प्याकेजमार्फत ३०० जनाभन्दा बढीको बुकिङ गराएका थिए । ती पाहुना यस वर्ष आउनेछन् । उनले भने , “गएको असारमा मलाई बैंकको ब्याज, किस्ता र अन्य खर्चमा समस्या भएन ।” ती पाहुनाले असारअघि नै रकम जम्मा गरिसकेका छन् । यस वर्ष उनीहरू भ्रमणमा आउनेछन् ।
जङ्गल सफारी लजका सञ्चालक समेत रहेका घिमिरेले यसपालिको दशैँ–तिहार सौराहा अफर सार्वजनिक गरेका छन् । दुई रात तीन दिनको यो प्याकेजमा एउटा लञ्च, दुईवटा डिनर र दुईवटा ब्रेकफास्टसँगै पर्यटकलाई थारू संस्कृति, थारू म्युजियम र हात्ती प्रजनन केन्द्र घुमाइने उनले बताए ।
होटल एशोसिएशन नेपालका सदस्य ज्ञानेन्द्रकुमार विष्टको रेन फरेष्टमा पनि यो प्याकेज घोषणा गरिएको छ । विष्टले भने, “हामीले दशैँ–तिहारलक्षित प्याकेज सार्वजनिक गरेका छौँ ।” उनको प्याकेजमा एक रात दुई दिनको रु चार हजार ४४४ पर्दछ । जसमा एक–एकवटा लञ्च, डिनर र ब्रेकफाष्ट पर्दछन् । यससँगै जीप वा हात्ती सफारीमध्ये एक र कल्चरल डान्स प्याकेजमा पर्दछ ।
होटल सेभेनस्टारले दशैँ–तिहार अफर अन्तर्गत कोठामा ४० प्रतिशत छुट गरेको छ । होटलका प्रबन्ध निर्देशक माधव दुवाडीले खानामा पनि १० प्रतिशत छुट तथा कर्पोरेट कार्यक्रममा विशेष छुट दिइने बताए । छुटसँगै कर्पोरेट कार्यक्रम, विवाहसँगै कोठा बुकिङ आइरहेको उनले बताए ।
अहिले सौराहामा ११० होटल र १०० हाराहारी रेष्टुरेराँ रहेका क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलियाले बताए ।
रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान)का अध्यक्ष दीपेन्द्र खतिवडाले अब रेष्टुरेन्ट साँझ अबेरसम्म चल्न पाउने भएसँगै छुटका अफर ल्याउने विषयमा छलफल थालिएको बताए । कोभिड घटेको र चाडपर्व आएकाले अब पर्यटक आउनेमा आफूहरू आशावादी भएको खतिवडाको भनाइ छ ।
गत वर्षको चैतयता होटल बन्द हुँदा ठूलो नोक्सान व्यहोरेका व्यवसायीले अब होटल खुल्दै गर्दा आन्तरिक पर्यटकलाई आकर्षित बनाएर व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्काउन लागिरहेको व्यवसायीहरु बताउँछन् । चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारीबाहेकका सबै गतिविधि सञ्चालनमा रहेका छन् । निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न यहाँ पर्यटक आउने गर्दछन् । निकुञ्जको मुख्य प्रवेशद्धार सौराहा हो । यो देशकै पर्यटकीय गन्तव्य हो ।



