images
images

यसरी नमुना बन्यो नेपाल कोरिया अस्पताल, मेयर मदनसुन्दर श्रेष्ठको अनुभव


  • 1.4K
    SHARES
  • २०७८ भाद्र ११ गते शुक्रबार

    यसरी नमुना बन्यो नेपाल कोरिया अस्पताल, मेयर मदनसुन्दर श्रेष्ठको अनुभव

    मध्यपुर थिमी नगरपालिकाले सञ्चालन गर्दै आएको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले पछिल्लो चार बर्षमा लामो फड्को मारेको छ । शिक्षा, स्वास्थ्य र सम्पदामा फोकस हुने हाम्रो सुरुवाती सोचनै हो । त्यही अनुसार स्वास्थ्यमा हामीले उल्लेख्य काम गर्न सफल भएका हौं ।  

    हामी नेतृत्वमा आउँदा यस अस्पतालको नाम कोरिया नेपाल मैत्री अस्पताल थियो । नामको सुरुमा नेपाल राख्न नै ६ महिना लाग्यो । सम्पूर्ण प्रक्रिया पुरा गरेर अस्पताल सञ्चालन गर्न थालेपछि यसले विकासको गति समात्यो ।  

    पहिले र अहिले

    240801196_4074888395972441_699295688102235435_n.jpg

    २०७४ को रेकर्ड हेर्नुभयो भने अस्पतालमा दैनिक ५ सय जति बिरामी आएको देखिन्छ । आजको रेकर्ड पल्टाउनु भयो भने त्यो बढेर ९ सय पुगेको छ । 

    चार वर्षअघि यसको अवस्था ‘प्राइमरी हेल्थ सेन्टर’ जस्तो मात्रै थियो । बिरामीलाई प्राथमिक उपचार गरिदिएर अन्यत्र पठाउने ‘रिफर सेन्टर’ जस्तो थियो । तर पछिल्लो समय त्यो अवस्था ठ्याक्कै उल्टो भएको छ । भक्तपुरका अन्य अस्पतालहरुले यहाँ ‘रिफर’ गर्छन् ।

    हामी आउँदा यहाँ ६५ जना स्टाफ थिए । अहिले ३ सय ७२ जना पुगेका छन् । गाइनोको २४ घण्टे सेवा दिएका छौं । त्यसकारण अहिले मध्यपुरका ९५ प्रतिशत गाइनोसँग सम्बन्धितहरु यहीँ आउँछन् । 

    पहिला ८० प्रतिसत ल्याब टेस्ट बाहिर पठाइन्थ्यो । अहिले ९५ प्रतिशत यहीँ हुन्छ । र, अरु अस्पतालको ल्याब टेस्टको काम पनि यहाँ आइरहेका छन् । पहिला ५० बेडको अस्पताल थियो । अहिले १ सय २ बेड छन् । तत्कालै २ सय बेडको हुँदैछ ।  

    त्यसबेला फार्मेसी वर्षको १५ लाखमा ठेक्का लगाइएको थियो । हामीले आफैं सञ्चालन गरेपछि ६ महिनामा अढाई करोड मुनाफा गर्यौं । अहिले हर्ट, आँखा, दाँत, छारे रोग आदिको उपचार गौरवगर्न लायक ढंगले भइरहेको छ । धेरै विशेषज्ञहरु हामीसँग हुनुहुन्छ । क्याथ ल्याब सञ्चालन गरिरहेका छौं ।

    पहिला नर्सको तलब ८ हजार र डाक्टरको तलब १८ हजार रहेछ । हामी आएपछि नर्सको न्यूनतम २२ हजारदेखि २७ हजार र डाक्टरको ३५/४५ हजारदेखि १ लाखसम्म पुर्याएका छौं । लकडाउनमा धेरै अस्पतालले आधा तलब दिने र जनशक्ति कटौती गरे । हामीले यस्तो गरेनौं । यी कारणले यहाँ काम सिकेर जाने चलन हटाएर अन्यत्र नाम चलेका र क्वालिटी दिन सक्नेहरु यता आउन थालेका छन् । अर्थात सम्पूर्ण रुपमा अस्पतालको ‘इमेज’ परिवर्तन भएको छ । 

    अहिलेसम्म हामीले २५/३० करोड लगानी गरिसकेका छौं भने सहयोगी हातहरुले पनि उत्तिकै सहयोग गरेर अस्पतालको स्तरउन्नति गर्न सहयोग गर्नुभएको छ । 

    Nepal-korea-1.jpg

    कोभिड उपचारमा नमूना 

    हामी आफैंले पीसीआर ल्याब सञ्चालन गरेका छौं । अहिले पिसिआर ल्याब सञ्चालन गर्ने एक मात्र नगरपालिका हो, यो । हामीसँग १० वटा भेन्ट्रिलेटर छन् भने एचडीयू (हाइ डेफिन्डेन्ट युनिट) २५, आइसियू २४ बेड छन् । 

    अक्सिजन प्लान्ट पनि जडान गरेर सञ्चालन गरिरहेका छौं । अहिले दैनिक १ सय ९२ लाख लिटर अक्सिजन उत्पादन गर्न सक्ने सामर्थमा छौं । अन्य अस्पताललाई आवश्यकता अनुसार अक्सिजन सप्लाई समेत गरिरहेका छौं । 

    निकट भविष्यमा के हुँदैछ ?  

    NepalKoreaHospital.jpg

    यो छोटो अवधिमा धेरै काम भएका छन् । ठूला रोगको उपचार गर्न थालेका छौं भने भक्तपुरमा सबैले रिफर गर्ने अस्पताल बनाएका छौं । निकट भविष्यमा २ सय शैय्याको अस्पताल हुनेछ । यसलाई ३ सय पुर्याउने लक्ष्य हो । 

    स्वास्थ्य बीमा गर्नेको संख्या ४५ हजार जति पुगेको छ भने यसलाई बढाउँदै लाने योजनामा काम गरिरहका छौं । ८० प्रतिशत नगरवासीको स्वास्थ्य बीमा गर्नेछौं । मध्यपुरलाई नि:शुल्क स्वास्थ्य उपचार हुने नगर बनाउने मेरो लक्ष्य हो । 

    सिटी स्क्यानका लागि टेन्डर भइसकेको छ भने एमआरआई मेसिन ल्याउँदैछौं । अर्को महत्वपूर्ण कुरा, ब्लड बैंक सञ्चालनमा ल्याउँदैछौं । त्यसैगरी चारवटा डाइलासिस मेसिन आउँदैछन् । यसपटक मात्र हामी २० करोड रुपैयाँ खर्चेर यस अस्पताललाई अत्याधुनिक बनाउँदैछौं । त्यसैगरी पीसीआर नर्सिङ कलेज सञ्चालन गर्ने लक्ष्य छ । 

    (नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका अध्यक्ष समेत रहेका मध्यपुर थिमि नगरपालिकाका मेयर श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित)


    मदन सुन्दर श्रेष्ठ
    श्रेष्ठ मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख हुन् ।


    images
    images

    Logo