काठमाडौं । दुई कम्पनीले साधारणसधा बोलाएका छन् । एनएमबी बैंकले पुस २६ गते र फर्स्ट माइक्रोफाइनान्सले पुस २८ गते बस्नेगरि साधारणसभा बोलाएका हुन् ।
एनएमबी बैंकले राष्ट्रिय सभागृह काठमाडौंमा बिहान १० बजे बोलाएको हो । सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।
यस्तै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्नेछ । साधारणसभामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस ५ गतेसम्म कायम सेयरधनीहरू मात्रै सहभागी हुन सक्ने छन् ।
फर्स्ट माइक्रोफाइनान्सले अम्रपाली ब्याङकेट भाटभटेनीमा विहान १० बजे बस्नेगरि सभा बोलाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ७.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ७.५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छन् ।
सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण (वासलात) तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ ।
सभाले कम्पनीको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण कार्यका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकहरुको बैठक भत्ता पुनरावलोकन गर्नेछ ।
सभाले उपरोक्त प्रस्तावहरु बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा सोही सम्बन्धमा नियमनकारी निकायबाट भएको निर्देशनलाई समेत समावेश गरी संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।



