रसुवा । ग्रामीण बस्तीको आपत्कालीन अवस्थालाई सहज बनाउन जिल्लामा हेलिप्याड निर्माण अगाडि बढेको छ । प्रत्येक गाउँमा हेलिप्याड निर्माण गर्ने सरकारी नीतिलाई कार्यान्वयन गर्दै स्थानीय तहमार्फत यहाँका दक्षिणी भेकमा पाँचवटा हेलिप्याड निर्माण भएका छन् ।
नयाँ बनेका हेलिप्याडमा कालिका गाउँपालिका–२ कालिकास्थान र सोही गाउँपालिका ४ र ५ जिवजिवे रहेका छन् । जिवजिवेको हेलिप्याड प्रदेश सरकार र कालिका स्थानको हेलिप्याड स्थानीय सरकारको आर्थिक सहयोगबाट तयार भएका कालिका गाउँपालिका अध्यक्ष सीताकुमारी पौडेल अधिकारीले जानकारी दिए ।
यसैगरी नौ कुण्ड गाउँपालिकाअन्तर्गत सरमथलीडाँडा, पारच्याङको मुनि फाम्चेत लारच्याङटारमा हेलिप्याड निर्माण भएको गाउँपालिका अध्यक्ष नुर्पुसाङ्वो घलेले जानकारी गराए ।
उत्तरगया क्षेत्रमा आपत्कालीन अवस्थाका लागि भने बेत्रावतीस्थित फलाखुखोलाको बगरमा हेली अवतरण गराउने गरेका छन् ।
गोसाइँकुण्डले भने आफ्ना छवटै वडाअन्तर्गत धुञ्चे, स्याफ्रु, लाङ्टाङ, बृद्विम, टिमुरे, थुमन, क्षेत्रमा हेलिप्याड निर्माण गर्ने कार्य योजना बनाएको उक्त गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको हाताभित्र रहेको हेलिप्याडमा अवतरण गराउन अग्रिम स्वीकृति लिनुपर्ने बाध्यता रहेपनि सेनाको हेलिप्याड उपभोग गर्न त्यति सहज नहुने पाइलटको भनाइ पाइन्छ ।
रसुवा रङ्गशालामा एकपटक अवतरण गराइसकेका प्रभु हेलिकप्टरका वरिष्ठ चालक पासाङनुर्वु शेर्पाले तारबार गरिएको धुञ्चे खेलमैदानमा बिरामी लिन जाँदा वा कुनै कारणले अपरझट हेलिकोप्टर अवतरण गराउन गाह्रो पर्ने देखिएकाले स्थानीय सरकारले अर्को स्थानमा छुट्टै हेलिप्याड निर्माण गरी हेलिकप्टर क्षेत्रलाई सहयोग गर्नेमा सम्पूर्ण पाइलट आशावादी रहेको बताए ।
यसैगरी अल्टिच्युट एयरका वरिष्ठ पाइलट विवेक खड्काले भने नयाँ हेलिप्याड निर्माण गराउँदा बोटबिरुवा र कुनै घेराबार नभएका खुल्ला स्थानको आवश्यक पर्ने सुझाव दिँदै सकभर २५ मिटर लम्बाइ, २५ मिटर चौडाइको मैदान निर्माण भएमा अवतरणका लागि उपयुक्त हुने बताए ।



