चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट छ जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट तीन, गैँडाको आक्रमणबाट दुई र बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार चालु आर्थिक वर्षमा २३ जना वन्यजन्तुको आक्रमणबाट घाइते भएका छन् । तीमध्ये गैँडाबाट १०, भालुबाट सात, बँदेलबाट पाँच र हात्तीको आक्रमणबाट एकजना घाइते भएका हुन् ।
मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट आक्रमण भई मृत्यु भएका परिवारलाई सरकारले राहत दिने व्यवस्था छ । वन्यजन्तुबाट हुने क्षति राहत निर्देशिका २०६९ को तेस्रो संशोधन २०७५ अनुसार मृतकले रु १० लाख पाउने व्यवस्था छ । अधिकारीका अनुसार घाइतेका हकमा रु दुई लाखसम्म निकुञ्ज कार्यालयले दिने व्यवस्था छ ।
अङ्गभङ्ग भएर लामो समय उपचार गर्नुपर्ने अवस्थामा सरकारी अस्पतालमा गरेको उपचारको सबै खर्च सरकारले व्यहोर्ने ऐनमा व्यवस्था छ ।