काठमाडौं । दुई वटा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । चिलिमे जलविद्युत कम्पनी र आईसीएफसी फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेका हुन् ।
चिलिमे जलविद्युत कम्पनीको सञ्चालक समितिको शुक्रबार (मंसिर २२ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार २७६ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १ अर्ब ८ करोड ८७ लाख २६ हजार ८९१.३८ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने ७२ करोड ५८ लाख १७ लाख हजार ९२७.५९ रुपैयाँबराबरको बोनस शेयर र ५ प्रतिशतले हुन आउने ३६ करोड २९ लाख ८ हजार ९६३.७९ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) छन् ।
लाभांश अनुमोदन गर्न कम्पनीले २७ औँ वार्षिक साधारणसभा आउँदो पुस २० गते आयोजना गर्ने निर्णय गरेको छ। सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन् ।
साधारणभा र लाभांश प्रयोजनार्थ कम्पनीले आउँदो पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको मतबल पुस ८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
त्यस्तै, आईसीएफसी फाइनान्स कम्पनीको सञ्चालक समितिको शुक्रबार (मंसिर २२ गते) बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँको ६.५० प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ ।
प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।



