काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड सञ्चालनमा आएको छ । यही मंसिर २१ गते बिहीवार आयोजित एक कार्यक्रमका बीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले माछापुच्छ्रे सेक्युरिटिजको समुद्घाटन गरेका हुन् ।
काठमाडौंको जमलस्थित नेपाल चेम्बर भवनमा कार्यालय रहने गरी माछापुच्छ्रे सेक्युरिटिजले औपचारिक रुपमा कार्य शुभारम्भ गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालले धितोपत्र बजारको विकास र विस्तारका लागि माछापुच्छ्रे सेक्युरिटिजले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
उनले धितोपत्र बजारमा नयाँ सेक्युरिटिजको रुपमा उदय भएकोमा कम्पनीलाई स्वागत गर्दै उनले लगानी कर्ताहरूमा धितोपत्र कारोबारको विश्वसनीयता बढाउँदै आगामी दिनमा कार्य सफलताको लागि शुभकामना व्यक्त गरे ।
यस्तै, माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष एंव गैर आवासीय संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले बैंकको सहायक कम्पनीको रुपमा दर्ता भई धितोपत्र बजारमा कारोबार गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको माछापुच्छ्रे सेक्युरिटिजले बैंकले जस्तै देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।
त्यस्तै, माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले असल संस्थागत सुशासन, पूर्वाधार तथा नियमन व्यवस्थाहरूको पूर्ण परिपालना हुने गरी व्यावसायिक, पारदर्शी र विश्वसनीय तरिकाले धितोपत्र बजारको सेवा प्रदायकको रुपमा माछापुच्छ्रे सेक्युरिटिजले आफूलाई उभ्याउन सक्नुपर्ने बताए ।
कार्यक्रममा माछापुच्छ्रे बैंक, माछापुच्छ्रे क्यापिटल तथा, माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडका सञ्चालक समितिका पदाधिकारीहरू, विभिन्न सेक्युरिटिज लिमिटेडका पदाधिकारीहरू, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तहका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।



