काठमाडौं । चीन सरकारले प्रस्तावित नेपाल-चीन पहिलो अन्तर्देशीय केरुङ(काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। चीनमा सम्पन्न रेलमार्गबारे समीक्षा बैठकमा चिनियाँ पक्षले सो प्रतिबद्धता गरेको बैठकमा सहभागी रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले जानकारी दिए ।
नेपाल–चीन सचिवस्तरीय रेलवे संयन्त्रको बैठकमा सहभागी भई स्वदेश फर्किएका महानिर्देशक बिसुरालले प्रस्तावित सो रेलमार्ग निर्माणलाई चीन सरकारले प्राथमिकतामा राखेको बताए ।
बैठकमा रेल विभागका महानिर्देशक बिसुरालसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र वन मन्त्रालयका प्रतिनिधि सहभागी थिए ।
अहिले चीनमा सम्पन्न नेपाल(चीन सचिवस्तरीय रेलवे संयन्त्रको आठौँ बैठक हो । नवौँ बैठक अबको तीन महिनापछि नेपालमा बस्ने छ। विभागका महानिर्देशक बिसुरालले भने, “आगामी २०८३ असारभित्र सो रेलमार्गको सम्भाव्यता अध्ययन सक्ने चीनको प्रतिबद्धता छ ।
चीन सरकारकै आर्थिक तथा प्राविधिक सहयोगमा २०७९ पुसदेखि सम्भाव्यता अध्ययन सुरु भएको थियो ।



